बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ
२३ मंसिर, सुनसरी । बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो।
यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्ला अदालत सुनसरीमा निवेदन दिनुभएको थियो । अदालतले आज मुद्दाको फैसला गर्दै सफाइ नै दिएको हो । सुनसरी अदालतले आज अभियुक्त गिरीका कानून ब्यवसायीको एकतर्फी बहश सुनेर सफाइ दिएको हो । सरकारी वकिल नगएपछि गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको हो ।

‘नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ पोखरेलका अनुसार फैसलामा भनिएको छ ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा गिरीविरूद्ध २०७६ पुस १० गते मुद्दा दायर भएको थियो ।
मुद्दा परेपछि जिल्ला अदालतले गिरीलाई कारागार चलानको आदेश दिएको थियो । कारागार चलान भएपनि गिरी थुनामा नबसिकनै बाहिरै बसेका थिए । केही समयपछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए । उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो ।
प्रकाशित मिति : December 8, 2020 at 8:57 am



