आयोजनाहरुको म्याद एक वर्ष थप्न निर्माण व्यवसायी महासंघको माग
२२ मंसिर, काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघले कोभिड–१९ का कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ । महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड–१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन् ।
कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताए । यस्तै २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फगुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग गरे ।
गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत माग गरे । यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझैपनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन समेत माग गरे ।

निर्माण सामग्रीको उपलब्धता नहुँदा महंगी बढेको भन्दै बजार अनुगमन गर्न समेत माग गरे । निर्माण क्षेत्रलाई चलायमान बनाउन आफूहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाइ छ । निर्माण भइरहेका आयोजनाहरुमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनले बताए ।
प्रकाशित मिति : December 7, 2020 at 1:28 pm



