१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान् योजनाः मुख्यमन्त्री पौडेल

१८ मंसिर, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताउनुभएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको बैंकहरुसँग सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा पौडेलले सरकारको यो अभियान सही कार्यान्वयन हुन सके देशको रोजगार र उत्पादनको क्षेत्रमा ठूलो प्रभाव पर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले विगतमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य निकायबाट उत्पादन तथा रोजगार वृद्धिका लागि भनेर गरिएको लगानीको ठूलो हिस्सा अनेकन प्रकारले खेरगएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋणको कार्यक्रमले त्यो अनावश्यक लगानीलाई रोक्ने र वास्तविक उद्यमीले मात्र रकम लिने बताउनुभयो । सानासाना उद्यम गरेर स्वरोजगार बन्न चाहनेका लागि सरकारको कार्यक्रम उपयोगी हुने भन्दै उहाँले काम गर्न चाहनेका लागि प्रदेश सरकार सारथी बन्ने धरणा राख्नुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सरकारको तीनखम्बे अर्थनीतिको सफल कार्यान्वयन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई पूरा गर्न कार्यक्रम अघि सारिएको बताउनुभयो । प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले सकारात्मक परिणामको आशासहित अगाडि सारिएको कार्यक्रम केही महत्वकांक्षीसमेत भएकाले सबै निकायको समन्वयमा मात्र कार्यक्रम सफल हुने धारणा राख्नुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवप्रसाद कोइरालालगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रदेश सरकारले विनियोजन गरेको रु तीन अर्बको कोषलाई बैंकमार्फत अधिकतम तीन प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा वितरण गर्नका लागि आज सरकार र कृषि विकास बैंक तथा साना किसान लघुवित्त वित्तीय संस्थाबीच सम्झौता गरिएको हो । सम्झौताको तत्काल कार्यान्वयन गरिने जनाइएको छ ।

प्रकाशित मिति : December 3, 2020 at 6:15 pm