१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तीन दिनदेखि खलङ्गा बजार अन्धकारमय

१८ मंसिर, खलङ्गा । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय बनेका छन् । साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो । वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पु¥याइएको डिजेल प्लान्ट पनि थन्किएपछि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो ।

आयोजनाको घुघुतीस्थित विद्युत्गृहमा रहेको यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा खलङ्गा बजार अन्धकार भएको आयोजनाले जनाएको छ । विद्युत्गृहको यन्त्र जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको रु दुई करोड ६३ लाखको आर्थिक सहयोगमा नयाँ यन्त्र जडानको काम शुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काममा पनि ढिलाइ भएको थियो । नयाँ यन्त्र जडान गरेको एक वर्ष नपुग्दै बिग्रिएपछि खलङ्गा बजार पुनः अँध्यारो बन्न पुगेको छ ।

चौरभरि उपकरण र डिजेल प्लान्ट

विद्युतगृहको चौर उपकरण र डिजेल्ट प्लान्टले भरिएका छन् । गत वर्ष सदरमुकाम खलङ्गा अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न रु २४ लाख ६० हजार उपलब्ध गराएपछि सो रकमबाट खरिद गरेर २०० केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेग्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

सदरमुकाम खलङ्गा बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसदसम्म चर्काे विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्काे डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको विद्युत् प्राधिकरण वितरण शाखा जुम्लाका इञ्जिनीयर हेमन्त साहुले बताउनुभयो ।

विद्युतगृहको चौर उपकरणले भरिए पनि यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न नपाएको विद्युत् वितरण शाखा जुम्लाले जनाएको छ । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको स्थानीयावासी जङ्गबहादुर रोकायाले बताउनुभयो ।

प्रकाशित मिति : December 3, 2020 at 1:16 pm