१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानकाे मृत्यु

१७ मंसिर, मङ्गलबारे ।  श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानकाे पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचाररत उहाँलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो ।

फाइल तस्वीर

अस्पतालबाट आफ्ना श्रीमानकाे खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको बताइएको छ । उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताउनुभयो । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : December 2, 2020 at 1:48 pm