१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रौतहटमा चक्कु प्रहारबाट युवकको हत्या

१६ मंसिर, काठमाडाैँ । रौतहटमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा: गए राति मृत्यु भएको हो। सामान्य विवादमा सोमबार राति उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै सोमबार बेलुकी भनाभन भएको थियो। झगडा शान्त भइसकेको केही बेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो। घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : December 1, 2020 at 9:50 am