स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छः मन्त्री अर्याल
१५ मंसिर, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत गरेको बताउनुभएको छ । मन्त्री अर्यालले गल्याङ नगरपालिका –१ मालुङ्गामा आज अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासंँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताउनुभयो । मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्नुभएको छ ।

वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उहाँले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताउनुभयो । विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उहाँको भनाई थियो । ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ । यो हामीले मात्र भनेका हौईनौँ यो त अन्तराष्ट्रिय मुल्याङकनले नै भनेको छ’, उहाँले भन्नुभयो ।
आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटी ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो । स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्घोष गरेको छ ।’ भौतिक संरचनासंगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै उहाँले स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने बताउनुभयो ।
प्रकाशित मिति : November 30, 2020 at 5:59 pm



