उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
१४ मंसिर, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ ।
३० प्रतिशत मत भार रहेको एशाेसिएटमा चन्द्र ढकालले ५२२ र किशाेर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेकाे वस्तुगतमा चन्द्र ढकालले ५९ किशाेर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशाेर प्रधानले ५३ मत ल्याए । ढकालले वस्तुगगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत , एसोसियटतर्फ १७.४६प्रतिशत मत ल्याएर कुल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्ष विपक्षभन्दा पनि सबै निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जित भनेको सम्पूर्ण व्यावसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’
प्रकाशित मिति : November 29, 2020 at 7:15 am



