११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

पर्यटन र खेलकुद मन्त्रालयको खर्च कटाैती गर्न सांसदहरूको माग

३१ जेठ, काठमाडाैँ । विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उहाँहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणाधीन विमानस्थलको समयावधि र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताउनुभयो ।

सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गर्नुभयो । उहाँले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेश गरेको स्पष्ट पार्नुभयो ।

युवा तथा खेदकूद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने बताउनुभयो भने अर्का सांसद प्रकाश रसाइलीले अर्थमन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यसैगरी सांसद दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकममा ग्रामीण पर्यटनको विकासमा ध्यान नदिएको भन्दै उक्त मन्त्रालयको विनियोजित बजेट घटाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १४:१९