१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नुवाकोट रेल र सुरुङ मार्गका कारण चाँडै नै प्रमुख शहर बन्दैछः राज्यमन्त्री मानन्धर

२९ कात्तिक, काठमाडाैँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जेष्ठ नागरिकको उपचार, संरक्षण र सामाजिक सुरक्षा लगायका सम्पूर्ण प्रबन्ध सरकारले गरिरहेको बताउनु भएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देबिघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज भएको बताउनु भयो ।

मन्त्री मानन्धरले जेष्ठ नागरिकको जीवनयापन सहज बनाउनका लागि आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य तथा अन्य प्रबन्ध राज्यले गरिरहेको र स्रोतले भ्याएसम्म थप सुविधा बढाउने तयारी गरिरहेको जनाउनु भएको छ । मन्त्री मानन्धरले कोरोना महामारीबाट जेष्ठ नागरिक बढी प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो । सरकार जनताको जीवन रक्षाका लागि क्रियाशिल रहेको बताउँदै जनताको स्वास्थ्य सुरक्षाका लागि सबै प्रबन्ध गरिएको जानकारी गराउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको जीवन रक्षा र सम्वृद्धिको जनचाहनालाई सँग सँगै अघि बढाइरहेको बताउनु भयो । मन्त्री मानन्धरले उपत्यकासँगै जोडिएका स्थानहरुमा नयाँ शहरको परिकल्पना गरेको बताउँदै नुवाकोट छिट्टै सम्वृद्धिको केन्द्र बन्ने बताउनु भयो । यस्तै चीनसँगको प्रमुख व्यापारिक नाका केरुङका कारण नुवाकोट चाँडै सम्वृद्धिको बाटोमा लम्कने बताउनु भयो ।

राज्यमन्त्री मानन्धरले निकट भविष्यमै रेल, सुरुङ मार्गका कारण नुवाकोट निकट भविष्यमै एक प्रमुख शहरका रुपमा विकसित हुने दाबी गर्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसर पारेर देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको जेष्ठ नागरिक संरक्षण दिग्दर्शन २०७७ स्मारिका विमोचन कार्यक्रममा सहभागी हुन मन्त्री मानन्धर नुवाकोट पुग्नु भएको थियो ।

प्रकाशित मिति : November 14, 2020 at 6:50 pm