१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नुवाकोटको शिवपुरीमा गुणस्तरीय स्वास्थ्य सेवा शुरु

२८ कात्तिक, त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गनुभयो । उहाँका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ ।

फाइल फाेटाे

“कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श तथा उपचार सेवा दिन सकेमा उच्च मनोबलले रोग जित्न सक्षम हुनेछन् भन्ने विश्वास लिएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “लक्षण बिहिन सङ्क्रमितलाई घरकै एकान्तबासमा राखिएको र उनीहरुलाई डाक्टरसहित स्वास्थ्यकर्मीमार्फत परामर्श र निगरानी थालिएको छ ।”

 

गाउँपालिकाले कोरोना रोग लागेर घरकै एकान्तबास (होम आइसोलेसन) मा बस्ने सङ्क्रमितलाई पौष्टिकयुक्त खानाको लागि एकमुष्ठ रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ । अध्यक्ष थापाका अनुसार लक्षण नभएका सङ्क्रमित घरकै एकान्तबासमा बस्न पाउने र त्यो समयमा सन्तुलित तथा पौष्टिकयुक्त खानाको आवश्यक पर्ने भएकाले त्यसका लागि पालिकाले रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : November 13, 2020 at 3:34 pm