बैतडी बस दुर्घटना अपडेट: सात जनाको सनाखत, प्रहरी जवानसहित नाै जनाको मृत्यु
२८ कात्तिक, काठमाडाैँ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये सात जनाको सनाखत भएको छ ।
बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।
ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य २ जनाको भने खुल्न सकेको छैन । गए राति करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

घाइतेहरूलाई राति नै उद्धार गरी डडेलधुरा अस्पताल पु¥याइएको छ । गम्भीर घाइते ७ जनालाई थप उपचारका लागी धनगढी पठाइएको डिएसपी अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाको कारण अझै खुलेको छैन ।
बसका चालक पनि गम्भीर घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रकाशित मिति : November 13, 2020 at 9:00 am



