१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मेलम्ची निरीक्षणपछि प्रमका सल्लाहकारहरूको निष्कर्षः वैशाख अघिनै काठमाडाैँमा पानी

२७ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरू र सांसद र विज्ञको टोलीले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको छ । बुधबार दिउँसो मेलम्चीको स्थलगत निरीक्षणमा पुगेको टोलीले निर्णमामा अबरोध नभए आगमी वैशाख अघि नै काठमाडौँका धारामा मेलम्चीको पानी आइपुग्ने निष्कर्ष समेत निकालेको छ ।

बुधबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङ, प्रधानमन्त्रीका विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, सिन्धुपाल्चोकको जिल्ला समन्वय समितिका प्रमुख विष्णुगाेपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयाेजना प्रमुख तिरेश खत्रीसहितकाे टाेलीले मेलम्ची आयाेजनाकाे कार्य प्रगतिकाे स्थितिकाे स्थलगत र समग्र निरीक्षण गरेकाे हो ।

स्थालगत निरीक्षणपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ६ बुँदामा निरीक्षणको बारेमा उल्लेख गरेका छन । सल्लाहकार थापाले मेलम्चीको पानी काठमाडौंमा ल्याउने चार दशक लामाे सपना कार्यान्वयनकाे नजिक आइपुगेकाे छ भन्दै यस्तो उल्लेख गरेका छन ।

१. राष्ट्रिय गाैरवकाे मेलम्ची खानेपानी आयाेजना पूरा हुने अन्तिम चरणमा पुगेकाे छ । सिन्धुपाल्चोकको मेलम्ची खाेलाकाे पानी काठमाडौंकाे सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणकाे सपना कुनै अन्यथा परिस्थिति सिर्जना गरिएन भने नयाँ बर्ष २०७८ काे आगमनअघि नै व्यवस्थित रूपमा उपभोक्ताले आआफ्नाे घर र धारामा उपलब्ध हुनेछ ।

२. अहिले २७ किमी लामाे सुरूङबाट छिट्टै १७ कराेड लिटर पानी ल्याउने तयारी रहेकाे छ । सुरूङभित्रका गेटहरूकाे पुन:डिजाइन अनुरूप बलियाे पुन:निर्माणकाे काम धमाधम भइरहेकाे छ । र, आउँदाे मंसिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेकाे छ ।

३. यारी र लार्केबाट थप ३४ कराेड लिटर पानी ल्याउने हिसाबले हेड वर्क्सकाे तदनुरूप निर्माण तीब्र रूपमा चलिरहेकाे छ । सुरूङ जम्मा ५१ कराेड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेकाे छ । जम्मा २९ अर्ब बजेट लागतमा निर्माण भइरहेकाे यस आयाेजनाले राजधानीमा पानीकाे संकट र प्यास मेटाउन महत्त्वपूर्ण याेगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।

४. मेलम्चीको पानी ल्याई काठमाडाैंका सडक पखालिदिने भनी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालकाे आम निर्वाचनमा भाषण गर्नुभएकाे धेरैलाई संझना नै छ । तर उहाँले दुई पटक प्रधानमन्त्री बन्दा आयाेजना अघि बढाउन कुनै सुरसारसम्म गर्नु भएन । तर आज तीन दशकपछि, अझ उहाँकाे अवशान भएकाे पनि करिब एक दशकपछि याे आयाेजना पूरा हुन गइरहेकाे छ । वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीकाे सफल नेतृत्वका कारण नै याे संभव भएकाे छ ।

५. हिजाे प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख विष्णुगाेपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयाेजना प्रमुख तिरेश खत्रीसहितकाे टाेलीले यस आयाेजनाकाे कार्य प्रगतिकाे स्थितिकाे स्थलगत र समग्र निरीक्षण गरेकाे छ ।

६. केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयाेजनालाई श्रम र सामान आपुर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरूका तर्फबाट त्यस अवसरमा आफ्ना समस्याहरू अविलम्ब सुनुवाइका लागि ध्यानाकर्षण पत्रसमेत प्रस्तुत गरिएकाे छ, जसमा स्थानीयले करिब ३६ कराेड र जम्मा १ अर्ब ३२ कराेड रूपियाँ बराबरकाे भुक्तानी पाउन बाँकी रहेकाे उल्लेख गरिएको छ । यस समस्याकाे विवेकसम्मत सम्बाेधन गरेर अघि बढ्दा मेलम्ची खानेपानी आयाेजनाकाे सफल कार्यान्वयन अन्तिम चरणमा पुगेकाे स्पष्ट भएकाे छ ।

प्रकाशित मिति : November 12, 2020 at 2:24 pm