६७ रोपनी क्षेत्रफलमा वाग्मती नगरपालिकामा फनपार्क बन्ने
कात्तिक २०, सर्लाही । बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको वाग्मती नगरपालिकामा फन पार्क निर्माण हुने भएको छ । नगरपालिकाको गौरवको आयोजनाका रुपमा फनपार्क निर्माण हुने भएको हो । यसका लागि गौरी पार्वती सुनकोसी धुलिखेल जेभी र नगरपालिकाबीच ठेक्का सम्झौता भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा निर्माण कार्य सम्पन्न गर्ने गरी रु १७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरप्रमुख भरतकुमार थापाले बताउनुभयो ।
वाग्मती नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट दुई किलोमिटर उत्तर बुद्ध शान्ति तपोवन नजिक करिब ६७ रोपनी क्षेत्रफलमा फनपार्क निर्माणको प्रक्रिया अघि बढाइने नगरपालिकाका इञ्जिनीयर सागर पौडेलले बताउनुभयो । फनपार्क निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरी राजस्व सङ्कलन गर्ने महत्वपूर्ण आयोजनाको रुपमा यसलाई लिएको नगरपालिकाले जनाएको छ । फनपार्कको पर्खाल निर्माणलगायत केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताउनुभयो ।

चुरे पहाड, हरियो वनजङ्गल, पवित्र तीर्थस्थल नुनथर र वाग्मती नदी किनारमा निर्माण हुने यो फनपार्क पर्यटकीय हिसाबले प्रदेश नं २ कै नमूना हुने नगरपालिकाका उपप्रमुख लिला कुमारी मोक्तानले बताउनुभयो । नगरको महत्वाकांक्षी योजनाको रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सारिएको उहाँले बताउनुभयो ।
निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायत कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको नगरप्रमुख थापाले बताउनुभयो । नगरवासीलाई रोजगारी दिने,आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने, नगरको अर्थाेपार्जन र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने हुँदा यसलाई नगरको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको उहाँकोे भनाइ छ । स्थानीय संस्कार, संस्कृति र रहनसहन पनि पार्कको आकर्षणको केन्द्र बन्ने नगरप्रमुख थापाको विश्वास छ ।
फन पार्कमा आकर्षक लाइटसहितको पिलर, विभिन्न ज्ञानवर्दक सामग्री सहितको ‘वाल अफ नलेज’, अतिथि गृह, स्वीमिङ पुल, पिकनिक स्थल, बगैचा, टेम्पो लाइट, पिङ, चिप्लेटीलगायत बालबालिकाका लागि खेल्ने विभिन्न खेल सामग्री, पार्क, होटल, पसल, टिकट काउन्टर, शौचालयलगायत भौतिक संरचना निर्माण गरिने छन् । रु २५ करोडको लागतमा फनपार्क निर्माण हुने भनिएपनि शुरुमा ९० प्रतिशत कामका लागि रु १७ करोडमा ठेक्का लागेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : November 5, 2020 at 4:32 pm



