१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

शुक्रराज ट्रपिकल अस्पतालले फिर्ता लियो कोरोना संक्रमितसँग धरौटी रकम लिने निर्णय

१७ कात्तिक, काठमाडाैँ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने जनाएको छ । अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन गर्ने जनाएको हो । अस्पतालले सोमबारदेखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरी धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डाक्टर सागर कुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिएका छन् ।

धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि अस्पतालले स्पष्ट पारेको छ । यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क  तिर्ने र  शुल्क तिर्न नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।

शुक्रराज अस्पतालमा भर्ना हुने विपन्न, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त एकल महिला, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाई कर्मचारीको भने निशुल्क उपचार हुने जनाइएको छ । यस्तै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : November 2, 2020 at 5:02 pm