५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेपाल वायुसेवा निगममा यसरी हुन्छ १७ प्रकारका भ्रष्टाचार


-लक्ष्मण सिटाैला

सुशील घिमिरेलाई नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षको गरिमामय पदममा नियुक्ति लिएर आउँदा उहाँलाई पक्कै पनि लागेको थियो होला बिग्रेर पतझड अवस्थामा पुगेको नेपाल वायुसेवा निगमलाई एउटा उचाइमा पुर्याउछु भन्ने। नेपाल वायुसेवा निगमको विभिन्न सुधार आयोगमा पर्यटन सचीवका हैसियतले उहाँले आयोगको अध्यक्षता हासिल गरेर काम गर्ने मौका पाएका पनि थिए तर कहिले पनि नेवानीलाई समयनुकुल सुधार गर्न सकिएको थिएन।

समस्या जहाँको तहि थियो नै। पर्यटन सचीवको हैसियतमा हिजो पर्यटन मन्त्रालयमा बसेर नेपाल एयरलाइन्सको चेयरम्यानशिप लिएर नेपाल एयरलाइन्सका माथिल्ला तहका कर्मचारीलाई सुधारका विभिन्न बुदा थमाउदै मिटिङ भत्ता पड्काउने सुशील घिमिरे आज स्वयं नेवानीको नेतृत्व तहमा छन।

हिजो सुधारका लागि आफैले लेखेर दिएका कामहरू आफैबाट पनि त पार लाउनु सक्नु भएको छैन र अहिले उहाँ बिलखबन्धना हुनुहुन्छ । हिजो किन सुधार गर्न सकिनस भनेर नेवानीका निर्देशकहरुलाइ बोलाएर झापड हान्दा त मजा नै आएको थियो होला तर आज घुम्दै फिर्दै आफ्नै काधमा नेवानी बचाउने जिम्मेवारी पाएर पनि पाँच महिना देखि नेवानी बचाउने होइन नेवानी सिध्याउने खेलमा लाग्नु भो निजि हवाई सेवा सग मिलिभगत गरेर। कोरोना भयो बिश्वका लाखौं हवाईसेवा कम्पनीहरु घाटामा छन। कयौ हवाई कम्पनी बन्द हुदैछन।

हवाई जाहज निर्माण कम्पनीहरु टाट पल्टन लागेका छन। यो अवस्थामा नेपाल मात्रै अछुतो रहन सक्ने कुरा पनि भएन। रोगब्याधी र प्राकृतिक बिपत्तिका अगाडि कस्को के लाग्छ र तर नेपाल वायुसेवा निगमलाई सामान्य सुधार सम्म पनि गर्न नसकी ग्राउन्ड ह्यान्डलिङ सेवालाई समेत बिस्तारै निजि कम्पनी स्वयंलाई गर्न पाउने अधिकार दिनु भनेको सरकारी स्वामित्व रहेको ध्वजाबाहक लाई सिध्याउने खेल र निजि बाट करोडौं लेनदेनमा काम हुनु हो ।

सुशील घिमिरे कुन स्वार्थ र कस्को अभिस्टताबाट प्रेरित भएर नेवानी भित्र पस्नु भयो र अहिले बिस्तारै नतिजा बाहिर आइरहेको छ। बुढा गोरुहरुलाइ सधैं काधमा जुवा भिराउने काम नेपाल सरकारले गरिरहेको छ। बुढा गोरुहरु पनि चाकरी गरेरै रिटायरमेन्टको पैसा बुझाएर भए पनि आफ्नो सिथिल काधमा जिम्मेवारी र पावर लिइरहन चाहने प्रवृत्ति अहिले नेपालमा हाबी भएको छ।

पदमा बसिरहने पाए हिजोको सामाजिक प्रतिस्ठा बचिरहन्छ र म समाजमा ठूलो पल्टन सक्छु भन्ने दिवा सपनाले गर्दा नेपाली समाज उल्टो गतिमा दौडिरहेको छ। यो प्रवृत्ति फेरि पनि दोहोरियो भुपु अर्थमन्त्रीलाई पुन अमेरिकाको राजदुत नियुक्ति गरेर।

युवराज खतिवडाले आफू भन्दा लायकको मान्छे अरु कोहि पनि छैनन भनेर प्रधानमन्त्रीको कान भर्न सफल भएकै हुन उहाँलाई हार्दिक बधाई छ। यी र यस्ता खाले प्रवृत्तिले नेपाली युवाबर्गमा नैराश्यता छाउछ। केवल हाम्रा मान्छे मात्रै नेतृत्वमा पुग्ने प्रवृत्तिले समाजनै विकलांग हुने अवस्था सिर्जना हुदैछ।

अवकाश प्राप्त सुशील घिमिरेलाई कुन अर्थमा नेवानीमा ल्याएको र उनी आएपछि उन्ले नेवानीलाई सुधार गर्न कति यत्न गरे खै देखिने गरेर कुनै सुधारका कामहरू भएका छन त ? कुनै देखिने काम भएको भए पत्रकारबाजि अवस्य हुन्थ्यो होला नै ? नेवानीको हिजोको बिबिध घोटाला र अनेकौं अनेक कान्डका बारेमा भनिरहनु यहाँ जरुरी ठान्दिन किनकि यो तीन करोड नेपालीलाई थाहा छ। नेवानीमा कसरी भ्रष्टाचार हुन्छ भन्ने बारेमा म यहाँ मुख्य भ्रष्टाचारका बारेमा प्रकाश पार्दै जानेछु केही अन्क सम्म ।

१. जाहाज खरिदमा हुने सस्थागत भ्रष्टाचार
२. इन्जिनियरिङ भ्रष्टाचार ( पार्टस पर्चेज )
३. टिकट बिक्रीवितरणमा भ्रष्टाचार ( लोकल र अन्तर्राष्ट्रिय
ट्राभल एजेन्सीसग मिलेर गर्ने आर्थिक चलखेल )
४. क्रुहरुको लागि आवास ( होटेल सम्झौतामा) भ्रष्टाचार
५. फ्लाईट क्याटरिङ्का लागि चाहिने बार्शिक सामान ( टेन्डरमा
प्रक्रियामा नै भ्रष्टाचार )
६. जाहाज मर्मत सम्भारका लागि बिदेश स्थित मेन्टेनेन्स कम्पनी
हरुसग मिलेर गरिने अदृश्य तर ब्यापक भ्रष्टाचार
७. इन्जिनियरिङ ए ओ जि ( एयरक्राफ्ट अन ग्राउन्डेड ) भ्रष्टाचार
८. ग्राउन्ड ह्यान्डलिङ इकुपमेन्ट पर्चेज प्रक्रियामा भ्रष्टाचार
९. खरिद बिभागबाट गाडी देखि सारी सम्ममा हुने भ्रष्टाचार
१०.भवन निर्माण, मर्मत, दैनिकी स्टेशनरि सामान खरिद र
पुराना गाडी पुराना सामान अक्सनमा भैरहेका भ्रष्टाचार
११. आन्तरिक उडानमा निजि एयरलाइन्सगको घातक
साठगाठ मिलिभगत
१२. ग्राउन्डेड भएका आन्तरिक उडानका जाहाज ( टिवन अटर )
समयमा रिपेरिङ्ग नगरी ग्राउन्डेड गर्दामा समेत भ्रष्टाचार
१३. यति एयरलाइन्सलाइ दिएको दुइटा टुइन अटर जहाजमा
भएको भ्रष्टाचार
१४. डलर सेक्टर( लुक्ला सोलुमा) हुने भ्रष्टाचार
१५. ब्यापारीक क्षेत्र हङकङ बैंकक दुवइ आदि लोड फ्याक्टरमा
हुने भ्रष्टाचार ।
१६. एक्सेस ब्यागेजमा कर्मचारीहरुबाट हुने भ्रष्टाचार
१७. एयर्पोट स्थित काउन्टरबाट हुने नियमित भ्रष्टाचार

माथी उल्लेख्य भ्रष्टाचारका सबै बुदाहरुमा म केही अन्कसम्म क्रमश लगातार लेख्दै जानेछु। नेपाल वायुसेवा निगममा प्रायः राजनीतिक आडमा नै भ्रष्टाचार हुने र मौलाउने गर्दछ। एउटा पहुचवाला कर्मचारीले हङकङको काउन्टरबाट हरेक फ्लाईटमा लाखौ रुपैयाँ एक्सेसेज ब्यागेज छलेर मिलिभगतमा भ्रष्टाचार गरिरहेको हुन्छ। चाहे आन्तरिक होस वा अन्तर्राष्ट्रिय सबै उडानमा क्यप्टेन सहितको मिलिभगतमा भ्रष्टाचार हुने गर्छन।

खास गरेर काउन्टर चेक इनमा समेत सेटिङ मिलाइएको हुन्छ । कुनै एक मात्रै कर्मचारीको इच्छामा भ्रष्टाचार हुने होइन। एक्लैले मात्रै चाहिँ आउट स्टेशनमा खटिएर जाने कर्मचारीले मात्रै गर्न सक्छ। नेपाल वायुसेवा निगमलाई त्याहाका थोरै इमान्दार कर्मचारीले मात्रै आजसम्म जोगाएका छन। सबै भ्रष्ट हुदैनन् । जो भ्रष्ट छैनन् तिन्लाइ जागीरमा टिकिराख्न पनि मुस्किल रहन्छ।

एयर्पोटको सेटिङ भित्र नअटाउने वा भ्रष्टाचारको बिरोध गर्ने कर्मचारी काम नै गर्न नपर्ने बिभागमा वा शाखामा सरुवा हुन्छ। भ्रष्टाचारको खुलेर बिरोध गर्ने कर्मचारीलाई मेनेन्जमेन्टले नै दबाइ राखेको हुन्छ । नेपाल वायुसेवा निगमको बोर्डमा प्रायः सोसफोर्स पैसा र पावरका भरमा संचालक सदस्य भएर आएका हुन्छन् । त्याहा जाने प्रायः हवाई क्षेत्रमा बिज्ञता हासिल गरेका मान्छे होइन पैसा बुझाएर र मन्त्री र प्रधानमन्त्रीका आसेपासे जाने गर्छन।

जाहाज र एभिएसन ब्यापारका बारेमा अनभिज्ञता भएका मान्छे संचालक समितीमा जान्छन् । उनीहरूको उदेश्य सस्थाको प्रगति भन्दा पनि बुझाएर आएको पैसा कसरी असुल उपर गर्ने र आफ्नो कार्यकालमा कसरी जाहाज खरिद गर्ने भन्ने हुन्छ । त्यस्तै सस्थामा कार्यकारी प्रमुख वा महाप्रबन्धक पदको जिम्मेवारी लिएर आउने महापुरुषले पचास लाख देखि एक करोड सम्म चन्दा दिएर आएको हुन्छ पार्टीका नाउँमा वा ब्यक्तिका नाउँमा । त्यो पैसाको असुल गर्न उस्ले सधैं दाउ खोजिरहेको हुन्छ । अनि मौका पायोकी भ्रष्टाचार गर्न थाल्छ। नेपाल एयरलाइन्समा खास गरेर संचालकमा र महाप्रबन्धकमा आउनुको मुख्य उदेश्य नयाँ जाहाज किन्ने र अदृश्य रूपमा भ्रष्टाचार गर्ने नै हो। जाहाज खरिद गर्दा धेरै को मिलिभगत हुन्छ । गए सबै गइन्छ नगए कोहि पनि गइन्न कमिसनको धन पचाइन्छ भन्ने उदेश्य हुन्छ।

१. जहाज खरिदमा हुने अदृश्य भ्रष्टाचार
जहाज खरिद गर्ने प्रक्रियालाई संबंधित बिभाग ( कर्पोरेटबाट) टिप्पणी उठाएपछी एउटा बिषेषज्ञ टाेली गठन गरिएको हुन्छ। त्यो टाेलीबाट प्राबिधिक राय सुझाव सहित संचालक समितिमा अनुमोदनका लागि महाप्रबन्धकलाइ प्रस्ताव पेश गरिन्छ । महाप्रबन्धकले टिप्पणी सहित संचालक समितिमा आवश्यक छलफल गर्न प्रस्ताव पेश गर्छन।पछि जहाज आवश्यकताको औचित्य सहित र बिज्नेस प्लान सहित एप्रुभलका लागि पर्यटन मन्त्रालय पठाइन्छ।

पर्यटनले अर्थमन्त्रालयको स्वीकृतीका लागि पठाउछ। अर्थको र पर्यटनको अनुमोदन पछि क्याबिनेटको निर्णयका लागि पठाइन्छ। यसरी क्याबिनेटको समेत निर्णय आएपछि समेत स्वीकृत गराइन्छ र बल्ल खरिद प्रक्रियामा जान्छ। खरिदका लागि आवश्यक पर्ने अमेरिकी डलर सटहिका लागि नेपाल रास्ट्रबैंकका लागि अर्थबाट पत्र जान्छ ।

नेपाल वायुसेवा निगम भित्र एक संचालक समितिको बोर्ड छ। उक्त बोर्डमा पर्यटन सचीव कार्यकारी रहन्छन र बाकी ट्राभल एन्ड टुरमा ,बाणिज्य ब्यापारमा,एभिएसन बिज्नेसमा दक्षता हासिल गरेका ब्यक्तिलाई बोर्ड सदस्यका रूपमा पर्यटन मन्त्रालयले नियुक्त गर्छ। ८ देखि १० जनाको त्यहि संचालक समितीलेनै जहाज खरिद प्रक्रियाको सिफारिस गर्छ। हुन पर्ने प्रक्रिया यो हो।तर संचालक समितिमा आजसम्म दक्षता हासिल गरेका ब्यक्ति होइन चोरबाटाे भएर छिर्ने ब्यक्तिका मात्रै जगजगि छ ।

नेपाल एयरलाइन्सलाइ बनाउने उदेश्यले होइन भत्काउने र बिगार्ने अनि निजि एयरलाइन्सका मालिकहरुसग मिलेर नेपाल एयरलाइन्स सिध्याउने खेल खेल्न सक्ने मनुष्य मात्रै यहाँ भित्र प्रवेश पाँउछन। यिनै र यस्तै समुहको झुंडबाट निर्मित संचालक समितिले जहाज खरिद प्रक्रिया अगाडि बढाएसि अब खरिद प्रक्रियामा कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर सोच्न थाल्छन् ।

१.१. मुल्य निर्धारण र अन्तर्राष्ट्रिय प्रकृया
ग्लोबल टेन्डर मार्फत आएका कम्पनीहरुले पठाएको शिल्ड कोटेशनलाइ आधार मान्नुपर्छ यदि नियममा चल्ने हो भने तर यसमा छ्लकपटले काम गर्छ। जाहाज उत्पादन लागत मुल्य भन्दा धेरै फरक पर्ने गरि बिचमा बिचौलीया कम्पनीहरु खडा गरेर जहाज किन्ने प्रक्रिया थालिन्छ जस्को सहयोगबाट खरिदकर्तालाई बढी भन्दा बढी कमिसन आवोस।

कम्पनीसग सिधै सम्पर्क नगरी बिचमा अरु बिचौलीया खडा गरेपछि मात्रै जहाज खरिद प्रक्रिया अगाडि बढ्छ । ग्लोबल टेन्डर केवल देखाउनका लागि गरिने यत्न मात्रै हो। सन्चालक समितीका सबै पदाधिकारी तालुकदार मन्त्री मन्त्रालय सहितको मिलोमतोमा जाहाज खरिद गरिन्छ। त्यसैले यो भ्रष्टाचारमा कसैलाई कार्वाही प्रक्रिया अगाडि बड्दैन।

जहाज खरिद कर्ताले मूल्य निर्धारण गर्दैन। मूल्य निर्धारण हवाई जहाज उत्पादन गर्ने मेनेफ्याक्चरिङ कम्पनीले उस्को आफ्नो जहाज बिक्रि गर्ने एजेन्टलाई उपयोग गर्छ। एजेन्टले पनि अर्को सब एजेन्ट खडा गर्छ र त्यहाँ एउटा ठुलो सन्जाल निर्माण हुन्छ। जाहाजको प्रोडक्सन कस्ट मेनेफेक्चरिङ्ग कम्पनीलाई मात्रै थाहा हुन्छ।

बिक्रि मूल्य भन्दा जति बढाएर खाए पनि एजेन्ट नै जिम्मेवार हुने भएकोले र हाम्रोमा सस्था देखि मन्त्रालय र मन्त्रीहरु सबै एक हुने भएकोले ५,७ अरब भ्रष्टाचार हुँदा पनि कार्वाहीको दायरामा कोहि फस्दैन। रह्यो अख्तियारको कुरा।

अख्तियार एउटा हाउगुजी मात्रै हो। सस्थागर भ्रष्टाचारमा अख्तियारले केही गर्न सक्तैन ।अन्तर्राष्ट्रिय बजारमा कमिसन पाउनु लिगल प्रोसेस होला तर यहाँ कमिसन भन्दा पनि जहाजको बजार मूल्य भन्दा पाँच , सात अरब नै मूल्य बडाएर खाने चलन छ यो कुरा रह्यो एयरबस ३३० को खरिदमा। नेपाल वायुसेवा निगमलाई जहाज चाहिन्छ ।

जहाज बिना सस्था रहन सक्तैन । जाहाज किन्दा कुनै पनि कर्मचारीले बिरोध पनि गर्दैन। कर्मचारीलाई जहाजसग मात्रै सम्बन्ध छ । मुल्यसग होइन। तालुक मन्त्री र मन्त्रालयको सिङ्गै टिम र संचालक समिति नै भ्रष्टाचारमा पस्दछन। यहाँ सामान्य मान्छेले भ्रष्टाचार हुन्छ भनेर कल्पना पनि गर्न सक्तैन । तर व्यापक भ्रष्टाचार छ। व्यापक भ्रष्टाचार भएको छ। सरकारनै भ्रष्ट भएपछि कस्लाइ कार्वाही गर्ने?।

अख्तियार निरीह रहन्छ। अदालत निरीह रहन्छ। पत्रकारले अलि धेरै नै बिरोधमा लेख्न थाले भने खाममा राखेर पैसा र स्टार होटेलमा ब्ल्याक लेबलको पार्टी गरेपछि तैचुप मैचुप। सिङो सस्था र सरकारनै मिलेर गर्ने भ्रष्टाचार माथी कहिले कार्वाही हुन सक्छ ?

कस्को हिम्मत ?। हिन्दी फिल्ममा देखाइने डकैत शैलीमा यस्तै भ्रष्टाचार कति भए, इतिहासमा कति भैरहेका छन, र कति हुनेछन भविस्यमा हेर्दै जानुपर्छ।

एउटा निरिही कर्मचारी मारमा पर्छ जहिल्यै । बीस अरबमा आउने जहाजलाइ २४ अरब तिरेर ल्याएपछि सस्थाले लागत मुल्य भन्दा बढी तिरेको पैसा कहिले उठाउने ?। राज्यले जिम्मा लिएको कुरामा त यति धेरै भ्रष्टाचार हुन्छ भने अन्य क्षेत्रको हालत के होला नेपालमा । नेपाल एयरलाइन्स नेपाल सरकारको स्वामित्व भएको सस्था हो। नेपाल दुरसन्चार र बिद्धुत प्राधिकरण भन्दा बाहेकका अन्य सबै सस्थाको हालत जिर्ण छ।  क्रमश ….

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १२:१३