५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेकपाले एकताको राष्ट्रिय महाधिवेशन चैतमा गर्ने, यस्तो छ ६ बुँदे कार्ययोजना


-पवित्रा मुडभरी 

९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताको राष्ट्रिय महाधिवेशन चैतमै गर्ने कुरामा विवाद समाधानका लागि गठित कार्यदलले जोड दिएर कार्ययोजनासहितको सुझाव पार्टी नेतृत्वलाई दिएको छ । नेकपा भित्र पदका लागि गुटबन्दी भएर सरकारको काम र पार्टीको काम दुबै प्रभावित भएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा कार्यदल गठन गर्नुभएको थियो ।

पार्टी महासचिव विष्णु पाैडेलको संयोजकत्वमा साउन ३० गते गठित कार्यदलले पार्टी विवाद समाधानका लागि सुझावसहितको लामो प्रतिवेदन दिँदै पार्टी विवादको एकमात्र समाधान महाधिवेशन भएकाले यसअघिको केन्द्रीय कमिटी बैठकले प्रस्ताव गरेकै मितिमा एकताको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठकले आगामी चैत २५ देखि ३० गते पार्टीको एकता महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ ।

कार्यदलले एकताको महाधिवेशन समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि एकता–एकीकरणका बाँकी कामहरु सम्पन्न गर्नुपर्ने निस्कर्ष निकालेको छ । जसले केन्द्रीय सचिवालयले पार्टी विधान र नियमावलीको व्यवस्था र निर्धारित मापदण्डका आधारमा एकता–एकीकरणका बाँकी कामहरु एक महिना भित्र सम्पन्न गर्ने, केन्द्रीय तहका सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च, पोलिटव्यूरो, विभागहरु, प्रदेश र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठहरु र प्रवास क्षेत्रकोसंगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।

यस्तो छ कार्यदलले प्रस्ताव गरेको एकताको महाधिवेशन सम्बन्धी कार्ययोजना 
१ पार्टी एकताको भावना एवम् मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने । महाधिवेशनसंग सम्बन्धित अन्य प्रक्रियागत कुराहरु पार्टीको विधान बमोजिम गर्ने । महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धती एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने ।

२ विचार, नीति र विधि सम्बन्धी बिषयलाई महाधिवेशन तयारीको महत्वपूर्ण बिषयका रुपमा ग्रहण गर्ने र तदनुरुप मस्यौदा दस्तावेजहरु तयार गर्ने । मस्यौदा दस्तावेजहरु तयार भएसंगै वैचारिक, नीतिगत तथा विधिगत बिषयमा बहस, छलफल सञ्चालन गर्ने ।

यो पनि पढ्नुहोस्

नेकपाको एकता कायम रहेमात्र देशको स्वाभिमान रक्षा सहज (कार्यदलको प्रतिवेदनसहित)

३ महाधिवेशनबाट माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरुप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवम् सृजनात्मक सिद्धान्तहरुलाई संस्थागत गर्ने । यस क्रममा साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र सशस्त्र आन्दोलनका सकारात्मक वैचारिक पक्षहरुको संश्लेषण गर्ने ।

४ महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न असोज १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने । उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल ब्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने ।

५ केन्द्रीय कमिटीको बैठकलेउक्त कार्ययोजना सम्बन्धमा छलफल गरी पारित गर्ने ।

६ संगठन विभागको कार्ययोजनामा आगामी असोज महिना भित्र सम्बन्धित जिल्ला कमिटीहरुले पार्टीको संगठित सदस्ता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने । मंसिर महिना भित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने । प्रवास क्षेत्रमा पनि
सोही अनुरुप गर्ने ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०९:३३