५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेकपाको एकता कायम रहेमात्र देशको स्वाभिमान रक्षा सहज (कार्यदलको प्रतिवेदनसहित)


-पवित्रा मुभडरी 

८ भदाै, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले नेकपाको एकता कायम रहेमात्र देशको स्वाभिमान रक्षा सहज हुने निष्कर्ष निकालेको छ । नेकपाका अध्यक्ष केपी शर्मा अोलीको नेतृत्वमा कालापानीसहित नयाँ नक्सा जारी भएको र त्यसमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाएको सन्दर्भमा भोलिका दिनमा देशको स्वाभिमान रक्षाका निम्ति पनि नेकपा एकढिका हुनुपर्ने र एकता अझै समृद्ध हुनुपर्ने कार्यदलको निष्कर्ष रहेको छ ।

कार्यदलले पार्टीलाई एकतावद्ध र सुदृढ बनाउन सकिएन भने संघीय लोकतान्त्रिक गणतन्त्र लगायत विगतका उपलब्धिहरुलाई जोगाउन, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवम् स्वाभिमानको रक्षा गर्न र विकास, समृद्धि एवम् सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद तर्फ अघि बढ्न कठिन हुने ठहर गरेको छ ।

नेकपाको एकता र प्रभावकारीता लोकतन्त्र, राष्ट्रिय हितको संरक्षण तथा समृद्धि एवम् सामाजिक न्यायको पूर्वशर्त बन्न पुगेको पनि कार्यदलको ठहर छ । प्रतिवेदनमा भनिएको छ ‘यही वास्तविकतालाई हृदयंगम गर्दै र विगतका कमजोरीहरुबाट शिक्षा लिनु पर्दछ । आपसी असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्दै परस्परमा विश्वास र एकता कायम गर्नुपर्दछ । पार्टी एकता सुदृढ गर्दै जनताको अपेक्षा एवम्राष्ट्रको आवश्कता अनुरुप आम जनता र सिंगो राष्ट्रलाई नेतृत्व प्रदान गर्नुपर्दछ ।’

अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठक समेत अवरुद्ध हुनगएको परिस्थितिको गंभीरतालाई महशुस गर्दै स्थगित बैठकका कार्यसूची र अन्य अत्यावश्यक बिषयहरुमा सहमति र एकताका साथ उपयुक्त निर्णय गर्दै अघि बढ्न कार्यदलले सुझाव दिएको छ । गत साउन ३० गते गठित कार्यदले तयार पारेर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गत शनिबार प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार २१:२२