२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

राष्ट्रकविको अन्तिम गीतः “त्यसरी होओस् मरण”

३ भदाै, काठमाडाैँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनुभएको थियो ।

गीतमा कर्ण दासको स्वर र छ । घिमिरेका नातिनीज्वाइँ डा प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराउनुभएको हो । डा भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गर्नुभयो ।

राष्ट्रकविको गीतः
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैंँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ०८:५२