५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कमरेड ! एक सय मुसा भाेजन गरेर बिरालाे हज गर्न हिडेजस्ताे व्यवहार नगर्नुस्


-देवेन्द्र ढकाल 

१. पार्टी सचिवालय सदस्य तथा प्रवक्ता (?) कमरेड नारायणकाजी श्रेष्ठले आफ्नाे फेसबुकमार्फत साउन १३ गतेकाे पाेष्टलाई यसरी प्रचारप्रसार गर्नुभएपछि “पार्टी फुट्नु हुँदैन, फुट्न दिइदैन र फुट्दैन !” भन्ने धारणा राख्नुभएकाे जानकारी भयाे ।

२. पार्टी एकता पहिले, अझ वाम गठबन्धनअघि तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी)केन्द्रबीच एउटै चुनाव चिन्ह “सूर्य” लिएर गठबन्धनका तर्फबाट निर्वाचन लड्ने ७ बुँदे सहमति भएकाे थियाे । त्यसलाई भाँडेर आ-आफ्ना चुनाव चिन्हमा लड्ने स्थिति कसले सिर्जना गरेकाे थियाे, जसका कारण १० लाख भाेट, २१ सिट नेकपालाई नाेक्सान परेकाे तथ्यप्रति आँखा चिम्लेर ढाकछाेप हुन्छ र ?

३. साउन १७ गते, २८ गते र २९ गते तपाईसमेत उपस्थित भएर गरिएका गुटगत भेलामा “चारमध्ये एक” मञ्चधारी नेता यहाँ हुनुहुन्थ्यो भन्ने समाचार सार्वजनिक भएकाे छ । ती भेला कुन आशय, उद्देश्य र नियतका साथ गरिएका थिए ? कुन आधिकारिक निर्णय सुनाउन तपाई त्यहाँ पुग्नुभएकाे थियाे ?

४. बैशाख २० गते तपाईले सचिवालयकाे बैठकमा अब उपरान्त मलाई खुमलटार, भैसेपाटी, हात्तीवन, झम्सीखेल, अगेनाे र त्यस्ता कुनै ठाउँमा गरिने गुटगत बैठकमा नबाेलाउनुहाेला, म उपस्थित हुन्न भन्ने धारणा राख्नुभएको थियाे भन्ने निकै चर्चा थियाे । त्यसयता आफ्नै घाेषणाकाे पालना कति गरिरहनु भएकाे छ ? थापागाउँ र अगेनाेमा भएका भेलाहरूमा तपाईले राखेको भनी सार्वजनिक धारणाहरू एकताकाे पक्षमै रहेका देखिन्छन् ? पालना गर्न नसक्ने घाेषणा त पाखण्डीपन मात्र हुन्छ, हाेइन र ?

५. एकता सबैलाई प्रिय र मनपर्ने कुरा नै हाे, तर बनारसकाे बाटाे हिडेर त कुती पुगिदैन ! अर्थात्, काशी जाने कुतीकाे बाटाे त संभव कुरा हाेइन । फुट र विभाजनकाे बाटाे हिडेर एकता न जाेगिन्छ न त जाेगाउन नै संभव छ । नेताले बाेल्ने कुरा र गर्ने काममा यति ठूलाे विराेधाभाष त सुहाएन । एक सय मुसा भाेजन गरेर बिरालाे हज गर्न हिडेजस्ताे व्यवहार नगर्दा नै उचित हाेला ।

६. निर्वाचन हारेपछि पाँच बर्ष धैर्यतापूर्वक बस्न र जनादेशकाे सम्मान गर्न नसक्ने तपाईले राष्ट्रिय सभामा जानुअघि पार्टीसँग आफूहरूकाे भरणपाेषण कसरी भनेर कचकच गरेपछि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा सदस्य बन्नुभएकाे हाेइन ? अनि एक बर्षकाेदपारिश्रमिक सुविधा असहाय र दीनदुःखीकाे सेवामा लगाउने धाेषणा सुन्दै रमाइलाे भएन र ? सरकारकाे काेषबाट पारिश्रमिक बुझेर असहाय गरिब र दुखीहरूकाे सेवा गर्ने याे काइदा भविष्यमा समाजसेवा गर्नेहरूले अवश्य पनि तपाईबाट अनुकरण गर्ने नै छन् ।

७. आफूचाहिं नियुक्तिहरूमा लिने व्यक्तिगत लेबी वा लगानी अथवा केबाट चल्दै हुनुहुन्छ ? विगतदेखि लामाे समय स्वास्थ्य र हाल शिक्षा मन्त्रालयकाे संचालन त तपाई र गिरिराजमणिकाे जीवनमा समाजवादकाे फूल फुलाउन नै भइरहेकाे छ ।

८. ठूलाे पार्टीकाे निर्माण र संचालन त तपाईका लागि नभूताे नभविषश्यति जस्तै हाे ।अहिले सम्हालिनै पाे मुश्किल पाे परिरहेकाे छ कि जस्तो लाग्याे । तर सम्हालिनुस, तपाईकाे जति याेगदान भएका पूर्व एमालेका १२/१५ सय व्यक्तिहरू जिल्ला तहकै कमिटीहरूमा रहेर निष्ठापूर्वक पार्टी र आन्दोलनमा याेगदान गरिरहेका छन् । यस यथार्थकाे हेक्का राख्नुस । माथिल्लाेदपदले मात्रै हाेइन, पहलकदमी, श्रेष्ठता र आचरणले नेता हुने हाे ।

९. प्रत्यक्ष निर्वाचन हारेकाे व्यक्ति प्रतिनिधिसभाकाे त्यस कार्य अवधिभरि राष्ट्रिय सभा सदस्य भए पनि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ, यसमा संशाेधन नगरी तपाई जतिसुकै हातमा टाेपी लिएर कुँदे पनि मन्त्री बन्ने कसरत र धाेकाे त पूरा हुन सक्दैन । यस्ता असंभव खेतीमा किन न्वारानदेखिकाे बल लगाएर सक्रिय हुनुभएकाे त ?

१०. व्यवहारकाे कसीमा यसरी हेर्दा तपाई पार्टी एकताकाे पक्ष कि विपक्षमा कहाँनेर हुनुहुन्छ ? आफ्नाे स्थिति र छवि कस्ताे बनिरहेकाे छ ? स्वमूल्यांकन गर्नुस । अनि मात्र तपाईकाे कुरालाई पत्याउने वा नपत्याउने ? निर्णय गराैंला ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १९:१२