६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

तनहुँको एक महिला बहुविवाहको ६ वर्षपछि पक्राउ, ११ महिना १४ दिन थुनामा रहने

२८ साउन, काठमाडाैँ । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो ।

विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो । फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् ।

अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महिना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ । प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ ।

बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ ।

प्रकाशित मिति : August 12, 2020 at 9:21 am