२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

जिल्ला अस्पताल नुवाकोटका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गरायो एक थान भेन्टिलेटर

२७ साउन, नुवाकोट । नुवाकोटको त्रिशुली जिल्ला अस्पतालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता एवं बागमती प्रदेशका नेकपाका सचेतक केशव पाण्डेको पहलमा मन्त्रालयले एक थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर सांसद पाण्डे नेतृत्वको नेकपा नुवाकोटको टिमले जिल्ला अस्पतालका लागि एक थान भेन्टिलेटर उपलब्ध गराइदिन अनुरोध गरेको भेटमा सहभागी नेकपा नुवाकोटका सचिवालय सदस्य नारायण घिमिरेले जानकारी दिनुभयो । भेटमा नेकपा नुवाकोटका सचिवालय सदस्यद्धय काशिराज अधिकारी र गणेश श्रेष्ठ पनि सहभागी रहनु भएको थियो । मंगलबार मात्रै चौधरी ग्रुप अन्तर्गतको चौधरी फाण्डेसनले स्वास्थ्य मन्त्रालयका लागि ८ थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको थियो ।

नुवाकोटसहित धादिङ र रसुवाकाका नागरिकले उपचार सेवा लिने जिल्ला अस्पतालमा यसअघि पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भेन्टिलेटरसहितको एनेस्थेसिया मेसिन नुवाकोट पठाउनुभएको थियो । अस्पतालका लागि मन्त्रालयले उपलब्ध गराउने भेन्टिलेटर मेसिन तत्काल प्रयोगमा आउने र अस्पतालको एउटा महत्वपूर्ण आवश्यकता पूरा भएको प्रमुख डा रेमकुमार राईले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल त्रिशुलीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन नुवाकोट सरोकार समाजले समेत विभिन्न संस्था र मन्त्रालयहरूमा निरन्तर लबिङ गरिरहेको छ । तीन जिल्लाका नागरिकले उपचार लिने त्रिशुली अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेर स्वास्थ्य मन्त्रालयले निकै महत्वपूर्ण काम गरेको भन्दै समाजका महासचिव अनुजकुमार श्रेष्ठले समाजले अब अत्याधुनिक ल्याब र रक्तसञ्चार केन्द्र स्थापनाका लागि काम गर्ने  बताउनुभयो ।

प्रकाशित मिति : August 11, 2020 at 10:07 pm