सवारी दुर्घटनामा नुवाकाेटका एकसहित ४ जनाको मृत्यु
२७ साउन, काठमाडौँ । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ विशालटारस्थित सडकमा बा.८४ प ६९६६ नम्बरको मोटरसाइकल र लु.१ ख ८५३२ नम्बरको ट्रक सोमबार दिउँसो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट तारकेश्वर गाउँपालिका-१ बस्ने २७ वर्षीय वीरेन्द्र तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धादिङ रुबीभ्याली गाउँपालिका-३ बस्ने ३० वर्षीय भोजबहादुर तामाङको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै राजविराज नगरपालिका-१ स्थित सडकमा स.८ प ४४७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको ट्याक्टरले सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमानगर कंकालिनी-४ बस्ने १९ वर्षीय मोहमद थारुको घटनास्थलमै मृत्यु भएको छ । घटनामा शंकास्पद ना.६ त ९१३९ नम्बरको टयाक्टर र अनटेष्ट लेखिएको टयाक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिरहा, सुखिपुर नगरपालिका-२ छजना चौकस्थित बरियारपट्टी सुखिपुर सडकमा स.८ प १५६० नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदल यात्रीसोही ठाँउ बस्ने ६५ वर्षीय राशलाल साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्थानीय सुखिपुर पोलीक्लिनिकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थाना भर्याङस्थित हाइवेमा ना.५ ख ५६७९ नम्बरको ट्रक र बा.९७ प ५४१३ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने १८ वर्षीय अजय बिश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : August 11, 2020 at 2:04 pm



