१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपालले भन्योः गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन

२५ साउन, काठमाडाैँ । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले यो विवादको विषय नभएको र ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्थापित र अकाट्य तथ्य भएको जनाएको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’

सारा विश्व समुदायलाई बुद्धिज्म नेपालबाट विश्वका मुलुकमा फैलिएको थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भएको बताएका थिए । उनले संसारले सम्झने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।

 

प्रकाशित मिति : August 9, 2020 at 6:21 pm