१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कोरोनाका गम्भीर बिरामीकाे संख्या बढ्दै : आइसियुमा ६६ जना, भेन्टिलेटरमा ३ जना

२३ साउन, काठमाडौँ ।  नेपालमा कोरोना संक्रमणकाे लक्षणसहितका बिरामीहरु बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा नेपालभर ४६४ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौँ उपत्यकामा मात्रै १०६ जना नयाँ काेराेना संक्रमित भेटिएका छन्। जसमध्ये सबैभन्दा धेरै काठमाडौँ जिल्लामा काेराेना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार सक्रिय संक्रमित बढ्दै जाँदा बिरामीहरुलाई आइसियु र भेन्टिलेटरमा समेत राख्‍नु परेको छ।

डा. गौतमका अनुसार अहिले कोरोना संक्रमण लक्षणसहितका गम्भीर बिरामी  ६६ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी अन्य ३ जना संक्रमितलाई भेन्टिलेटरमै राख्‍नु परेको छ। गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताएका छन्। जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको हाे। अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले बताएका छन् । गौतमले ३६ वटा अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने बताउँदै ११५ वटा काेराेना क्लिनिक पनि सञ्‍चालनमा रहेको बताएका छन्। गौतमले शुक्रबारसम्म कोरोना संक्रमणबाट  मुत्यु हुनेकाे संख्या ७० जना पुगेकाे जानकारी दिएका छन्।

प्रकाशित मिति : August 7, 2020 at 5:24 pm