२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

नेपालमा अझै ५ दिन भारी वर्षा हुने, सतर्क रहन आग्रह

५ असार, काठमाडाैँ । नेपालमा अझै ५ दिनसम्म भारी वर्षात हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गर्नुभएको थियो । त्यस क्रममा वैद्यले ९ असारपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताउनुभयो । यो मात्र अझै बढेर २ सय मिलि लिटर पार्नी पर्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताउनुभयो ।

 

२४ घण्टामा कहाँ पर्यो धेरै पानी ?

विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताउनुभयो । ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भन्नुभयो, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्म पानी पर्छ ।’

नारायणीले खतराको तह नाघ्यो, अरु चार नदीमा ठूलो बाढी आउने

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको हो । उक्त स्थानमा जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटर माथि आइसकेको छ । वर्षात नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । यस्तै नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको हो । उक्त स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तह पार हुनुपर्नेमा जलसतहले ११. ९८ मिटर पार गरेको वैद्यले बताउनुभयो ।

विभागले खतराको तह पार गरेको स्थानका तल्लोटतीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिनुभयो ।

यस्तै कोशी कोशी नदीमा सतर्कताको तह पार गरेकाले भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ । यो वर्ष आगामी कात्तिकसम्मै वर्षात हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा सुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ ।

चार महिनामध्ये असारको अध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षात हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षातको दर उच्च छ । ‘चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भन्नुभयो, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्याधिक पानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ । एक वर्षमा पर्ने पानीको ८० प्रतशित पानी मनसुनको चार महिनामा पर्ने उहाँले जानकारी दिनुभयो । हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताउनुभयो ।

हरेक दिन मिडिया ब्रिफिङ

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताउनुभयो । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उहाँको जोड थियो । ‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्न सक्ने आधार बनाएका छौं’, मन्त्री पुनले भन्नुभयो, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।

’ उहाँले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । ‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनुनपरोस् ।’ यस्तै बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन भोलि .(सोमबार) देखि अधिक वर्षात नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिनुभयो । विभागले सोमबारदेखि बिहान हरेक दिन बिहान ११ः ०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ ।

प्रकाशित मिति : July 20, 2020 at 6:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/