१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सूर्य नेपालद्वारा प्रदेश १ सरकारले स्थापना गरेको काेराेना काेषमा एक करोड सहयाेग

३ असार, विराटनगर । प्रदेश नं. १ सरकारले स्थापना गरेको कोभिड–१९ जनसुरक्षा कोषमा सूर्य नेपाल प्रालिले आज रु एक करोडको चेक प्रदान गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा रु एक करोडको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकाले सङ्क्रमितहरुको समुचित उपचारको व्यवस्था गरिएको विचार व्यक्त गर्नुभयो ।

उहाँले सहयोगका लागि धन्यवाद दिँदै जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र कोभिड–१९ टेष्टलाई प्राथमिकता दिँदै सीमा सुरक्षा व्यवस्थित गरिएका कारण प्रदेशमा सङ्क्रमितको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरिएको बताउँदै आगामी दिन आवश्यक्तानुसार थप सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । सूर्य नेपालले बाराको सिमरा, तनहुँको सेराटार र मोरङको विराटनगरस्थित उद्योगबाट विश्वस्तरीय गुणस्तरीय उत्पादन नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार १२:५३