११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

खास्टो ओढेको खप्तडसँगै (नियात्रा)


–प्रतीक ढकाल

बिहानको ७ बजेको भए पनि खप्तडको धर्ती छ्याङ्ग उघ्रिसकेको छैन । हिँड्ने बाटोको डोबसम्म देखिन थालेको छ । परपरका डाँडा र हिउँ ओढेर सुकेका रुखहरु देखिन थालेका छन्— तर आफ्नै खुट्टाहरुलाई राम्ररी देख्ने बेला भैसकेको छैन अझै ।

हिजो जुन ढुंगामा पुर्याएर आफूलाई मोडेका थियौं— जुन ढुंगाबाट मूल बाटो छोडेका थियौं— फेरि त्यहीं पुर्यायौं आफूलाई र अगाडिको बाटो नाप्न थाल्यौं । हिउँको यो धवल साम्राज्यमा कतै देखिंदैन कुनै कालो थेग्लो । जता हेर्यो उतै हिउँ नै फिँजारिएको छ । आकाशमा बादल फैले जस्तो धर्तीमा हिउँ फैलेको छ । अथाह, अनन्त र अपरिमित ।

सेतो धरती कि सेतो साम्राज्य ?

वास्तवमै मैले कल्पनै नगरेको खप्तडमा आइपुगेका छौं हामी । वास्तवमा कसैले सोच्दै नसोचेको यात्रा सम्पन्न गरेका छौं हामीले । र, वास्तवमै खप्तडको सुन्दरता मात्र होइन, यसको रौद्ररम्यताको पनि साक्षी बस्न आइपुगेका छौं हामी ।

“या शुभ्रवस्त्रावृता” खप्तडलाई देखेर हामी आनन्दित मात्र होइन, डराएका पनि छौं । खप्तडको यो रौद्ररुपले पिरती पनि लाएको छ र हाम्रो सातो पनि खाएको छ । कसो कसो बहुमुखी रुपमा खप्तड हाम्रा सामु उदाएको छ ।

शिलालेख रहेछ यो ढुंगामा । तर अक्षर देखिने बेला भएको छैन । तीनवटा उस्तै उस्तै घरहरुमध्ये सुरुकोमा पसेका थियौं हामी । रातभरि त्यहीँ बसेका थियौं हामी । हो, त्यही घरलाई दाहिने हाततिर छोडेर बाटो लाग्दैछौं अब हामी ।

मात्र आधा घण्टा वर बास बसेका रहेछौं हामी । बिहानको ७ः३० बजेतिर त कता कता झुल्के घाम र सेनाको ब्यारेक दुवैमा हाम्रा आँखा परे । अलि माथितिर पनि केही घरहरु देखिए । जे होस्, यो हिउँको साम्राज्यमा पनि केही घरहरु उम्रिए र हामीभित्र पनि आशाको टुसो पलायो ।

दाहिनेतिरको घर जस्ले हामीलाई बँचायो

हामी सेनाको ब्यारेकको धेरै नजिक पुगिसकेका छौं । फोटो खिच्न निषेध गरिएको सूचनालाई पढिसकेका छौं । त्यत्तिकैमा सेन्ट्री बसिरहेको एउटा सैनिकले अलिमाथि डाँडातिर रहेको एउटा घरतर्फ देखाउँदै भने— “ऊ त्यहाँ गएर इन्ट्री गर्नोस् । अनि ऊ त्यो परको चैं होटल हो— त्यतै जानोस् । अब यता आउन पाइन्न ।”

सेनाको ब्यारेक

हामी उनले देखाएको पहिलो घरतिर उक्ल्यौं । हिंवैहिउँ छिचोलेर हिँड्नु सजिलो थिएन— त्यसैले निकै दुःख गरेर निकै बेर लगाएर त्यो घरको आँगनमा पुग्यौं । बोर्ड हेर्यौं— यही हो रहेछ खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय । डाँडामाथि नै अछाम, बझाङ, बाजुरा र डोटीको भेट हुने भएकाले बढी भत्ता पाउन हुनुपर्छ— ‘बाजुरा’को भूमिमा ल्याएर उभ्याइएको रहेछ यो कार्यालय । त्यसले जारी गरेको नागरिक बडापत्र पनि हे¥यौं । बाटो देखाउने तीरहरु बोकेर बसेको एउटा ठाडो मुढोलाई पनि हे¥यौं । त्यसबाट प्राप्त भएका सूचनाहरु र अहिलेको हकमा त्यसको सान्दर्भिकताका बारेमा पनि बिचार गर्यौं । जस्तो कि त्यसमा खप्तडबाबाको आश्रममा जानका लागि अब ४५ मिनेट लाग्छ भनिएको छ— त्यो त सजिलो बेलाका लागि हो । दशहराको मेलाका लागि हो । अहिले त बाटै खुलेको छैन । कोही पुग्नै सक्तैन त्यहाँ । सिंगो दिनमा पनि पुगिन्न— बरु पूरै हिउँमा डुबिन्छ ।

खै त, कतै छैन मान्छेको चालचुल ।

वरिपरि पुगेर हेर्दा पनि कतै कसैलाई नभेटेपछि हामी होटलतिर जान लालायित भयौं । धेरै घुमाउरो बाटो हिँडेर र माथिको पुल तरेर बल्ल बल्ल त्यहाँ पुगियो ।

तर अहँ, मान्छेको त चालचुलै छैन ।

अब भने मेरो छैठौं इन्द्रिय जागृत भयो । यो कुनै अनिष्टको संकेत त होइन कतै ? मेरो मनमा चिसो पस्यो । हामी फेरि धेरै दुःखका साथ फक्र्यौं । बहिनी धेरै ठाउँमा लडिन् पनि । म धेरै ठाउँमा हिउँमा भासिएँ । र, बडो मुश्किलले फेरि त्यही सैनिक क्याम्पकै सेन्ट्री पोष्टमा आइपुग्यौं ।

मैले त्यहीं पहरा बसेको भाइलाई भनें— “हामीले धेरै नै दुःख पाइसकेका छौं । अब हामीलाई तपाईंले गर्न सक्ने केही मद्दत छ भने भन्नोस् ।”

तिनले अरु दुई जना सैनिकलाई त्यहीं बोलाए र हाम्रो कुरो भने । ती पछिल्लाले भने— “निकुञ्जको कार्यालयमा कर्मचारीहरु छन्— तर ती दश बजेतिर मात्रै उठ्छन् । अहिले त सुतिराखेकै होलान् । होटलवाला चैं बढी हिउँ परेका कारणले होटलै बन्द गरेर तलतिरै गएका छन् रे भन्ने सुनेको छु मैले पनि— तर म प्रष्ट छैन ।”

अनि लाचार भएर मैले सोधें— “त्यसो भए हिजो आएका अरु मान्छेहरु कहाँ छन् त ?”

“खै कति बेला को आयो भन्ने सबै कुरो त हामीलाई पनि थाहा हुँदैन । ‘डिप्टी’ फेरिन्छ नि हाम्रो पनि । जता गएका हुन्, त्यतै सुतिरहेका होलान् । ”

“त्यसो भए खप्तड पर्यटन विकास समितिको कार्यालय चैं कता पर्छ नि ?”

तीनै जनाले मुखामुख गरे । पहिलो पटक यो नाम सुने जस्तो अनुहार बनाए र भने— “ख्वै, हाम्लाई त था भएन ।”

“थाहै छैन ?” अब आश्चर्यचकित हुने पालो मेरो थियो ।

“नामै सुनेको छैन त्यो अफिसको त ।” कुनै एकले भन्यो ।

हामी उभिएर कुरा गरिरहेको ठाउँभन्दा २५/३० हात जति माथि रहेको एउटा टहराको आँगनमा लहरै उभिएर सैनिकहरु चिया पिइरहेका थिए । रातभरि अभर परेर दुःख पाएका मान्छे रहेछन् भनेर दयावश कसैले एक एक कप चिया खुवाइ पो हाल्छन् कि भनेर कता कता आशा पनि पलायो मेरो मनभित्र ।

तर अहँ, कसैले कुनै वास्तै गरेन ।

सायद त्यही हूलमा हुँदा हुन् हिजो हामीलाई नै सघाउन भनेर पठाइएका ती दुई जवानहरु पनि । अथवा नहुन पनि सक्दा हुन् । डाँग्रे (चुस्ता) लगाएपछि सबै उस्तै देखिन्छन्— हामीलाई के थाहा ? तर मनले आशा गरिरह्यो— कतै ती दुई पो झ्वाट्ट प्रकट भएर हामीलाई चिया खुवाउन सिफारिश पो गरिदिने हुन् कि ?

लेखकः प्रतीक ढकाल ।

हामीले झण्डै ४५ मिनेट बिताएछौं— त्यहीं, सैनिक पोष्टकै वरपर घुम्दै । त्यतैबाट माथि गयौं— त्यतैबाट तल झर्यौं । त्यहीं उभिएर आप्mनो कथा सुनायौं । त्यहीं उभिएर सहयोगको याचना गर्यौं ।

तर अहँ, हाम्रो कुनै सुनुवाइै नै भएन । न त कुनै ‘ठूलो’ मान्छेलाई बोलाइदिए न त हामीलाई नै भित्र छिर्न दिए । बाध्य भएर हामीले बिहानको ८ः३० बजे त्यो गेट अगाडिबाटै फर्कन सुरु गर्यौं ।

फर्किन थाल्ने बेलामा पनि बडो आशालु भएर पछाडि फर्केर हेरें— कसैले हातको इशाराले ‘आउनुहोस् आउनुहोस्’ भनेर बोलाउँदै पो छ कि भनेर । सुरेश फैजा र पुरण पुनले हामीलाई मद्दत गर्न आँटेका पो छन् कि भनेर ।

मैले क्याप्टेन सन्दिप विष्टको हार्दिकता र जमदार मेघराज रानाभाटको सहयोगी व्यवहारलाई सम्झें । अनि उनीहरुकै मान्छेले अहिले हामीलाई नै बिर्सेको तीतो यथार्थलाई पनि संझें । मन बुझाएँ— यस्तो पवित्र स्थलमा आएर यस्ता कुराहरु संझिनु हुँदैन भनेर । मनलाई सुर्याएँ— रामले वनमा १४ वर्ष बिताए— तँ मूलाले त जम्मा एक रात भनेर । तैपनि घुमीफिरी मनमा एउटै कुरो आइरहन्थ्यो— “राज्यले आप्mनो कोषबाट पालेको सेनाले, राज्यले आप्mनै कोषबाट तलब, भत्ता र रासन खुवाएको सेनाले— के अप्ठेरोमा परेको बेला, रातभरि दुःख पाएर आएको सरकारकै एउटा सहसचिवप्रति न्यूनतम् मानवीय दया देखाउन आफ्नो चालु मेसबाट झिकेर तीन कप तातो पानी खुवाउन सक्तैन ?”

धिक्कार छ !

मेरो मन नराम्रोसँग हुँडोलिए पनि मैले त्यसलाई सम्हालें । आफूले आफैंलाई भनें— हेर केटा, दुःखमा आत्तिनु हुँदैन । तँ मूलालाई के नराम्रो भा’को छ र यसरी मन दुखाउँछस् हँ ? जापानी सन्त बुकुजुलाई कत्रो ठूलो यौनको आरोप लाग्यो; आफैंले पाल्ने गरी बच्चा नै जिम्मा बुझ्नु पर्यो । तैपनि उनले ढुङ्गा हान्दै आएको त्यो पागलहरुको विशाल भीडलाई हेरेर “हो र ?” मात्र भनिरहे । केही सवाल–जवाफ नै नगरी चुपचाप स्वीकारे— त्यो ईश्वरीय लीलालाई । पछि सत्य खुलासा भएपछि फेरि तिनै धुन्धुकारीहरु आए र “हामीबाट ठूलो गल्ती भएछ, हामीलाई माफ गर्नोस् महात्मा” भन्दै पाउ पर्दा पनि “हो र ?” मात्रै भनेर मुस्कुराइरहे । विपरीत हावा बहेका बेला आप्mनो पाल बन्द गरेर बस्नुपर्छ हेर बाउन् केटा पर्तिकपर्साद पाध्ये ताकि त्यो दूषित हावाले आफूलाई छुनै नपाओस् । बरु केही मर्मत संभार गर्नुछ भने पनि यही बेलामा गरिहाल् । पछि मौसममा सुधार आएपछि धेरै तेज गतिमा दगुर्नु पर्नेछ तैंले । तेरै साथी सनतकुमार थापालाई नै हेर न, कति दुःख दिए आफ्नै पर्नेहरुले— सरकारी बाटोलाई नै अंशमा पारिदिए । सकेसम्म ठग्नै खोजे । दुःखै दिए । अकुत सम्पति कमाएको छ भनेर उजुरी पनि गर्दै हिँडे । भ्रष्टाचारी हो भनेर लेख्तै पनि हिँडे । तर के ती आत्तिए कहिल्यै ? कतै रुँदै हिँडे ? कतै गुनासो गर्दै हिँडे ? दिलशोभालाई नै हेर न ! कसरी रुवाए ! भुवनलाल प्रधान र प्रेम दंगालको त जागिरै खाइदिए । साहित्यकार कृष्ण प्रसाईंमाथि भएको अन्यायको त हिसाबै गर्न सकिँदैन । नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको ठाडो आदेशमा कुनै लाशको दोहोर्याएर पोष्टमार्टम गरियो— उनलाई दोषी देखाउन सकिन्छ कि भनेर । पोष्टमार्टम त विज्ञान थियो, तथ्यमा आधारित; यहाँ त त्यसको पनि धज्जी उडाइयो । सडकको ‘डलर’ जुलुसको दवावले उनका परिवारका सबै सदस्यहरुलाई हिरासतको चिसो छिँडीमा पुर्यायो । छोराको परीक्षा समेत छुट्यो । दुई दुई पटकको पोष्टमार्टमको नतिजा पनि आप्mनो स्वार्थ अनुसार नआएपछि बल्ल ती आन्दोलनकारी डलरहरु शिथिल भए र उनको परिवार थुनामुक्त भयो । तर कसैले पनि क्षमा मागेनन् । यो अवधिमा उनको इज्जत, मान, मर्यादा, अर्थ, कर्म, लेखन र मानवीय सम्बन्धका क्षेत्रमा जुन क्षति भयो, के त्यो कसैले पूर्ति गर्न सक्छ ? यो त यस्तै खाले चरित्रहरुले ढाकिएको देश हो । अझ तिनै ठूलाबडा र अधिकारकर्मी बनेका छन् अझै पनि । तिनकै दवावका अगाडि झुक्छ सिंहदरवार पनि । मुद्राशक्ति कलौयुगे भएको यै त होला नि !

अानन्दभूिमकाे अाँगनमा नियात्रा पुस्तक पसलहरूमा उपलब्ध छ ।

भुँइमा भएको मान्छेको खुट्टा कस्ले तान्छ र ? भगवानले परीक्षा लिने भनेकै अलिकति उँचाइमा पुगेपछि मात्रै हो । तेरो सबैभन्दा ठूलो अयोग्यता यही हो कि तैंले पैसा कमाइनस् । तेरो कुनै बैंकमा लकर छ ? छैन । घरमा मोटर छ ? छैन । आइफोन छ ? छैन । गतिलो बैंक ब्यालेन्स छ ? छैन । छोराछोरीलाई सेल्फ फाइनान्स्मा विदेशमा पढाएको होस् ? होइन । अनि, अब तँ आफैं भन् त, निजी आर्थिक विकासले यस्तो द्रूत गति ग्रहण गरेको यो जस्तो अभूतपूर्व बेलामा सरकारी सेवामा तँजस्तो एउटा यति निकम्मा सहसचिव किन चाहिन्छ ? धरौटी राख्नका लागि पनि अब त झन पैसा नकमाई हुँदैहुँदैन । र, वर्तमान परिप्रेक्ष्यमा सरकारी ओहोदाधारीले पैसा नकमाउनु भनेको यति ठूलो अपराध हो कि अब त तँलाई अकुत सम्पति कमाएको अभियोगमा समेत मुद्दा चलाइन सक्छ । हेर्दै जा, तँलाई अझै एउटा मुद्दा थपिन पनि सक्छ । हल्लाकै भरमा जग हँसाइन पनि सक्छ किनकि यहाँ लेख्नलाई कुनै आधार प्रमाण चाहिँदैन । तेरो साहित्यिक व्यक्तित्वलाई अझै खुइल्याउन खोज्ने प्रतिस्पर्धीहरु यहीं छन् । त्यहींमाथि तँलाई जागिरमा फिर्ता हुनै नदिने डिजाइनमा पनि केही मानिसहहरु लागेकै छन् अझै । अनि, यति सानो कुरामा पनि तँ मूला चैं किन पितुर्किन्छस् नि ! के जन्मँदै जागिर लिएरै आएको थिइस् तँ पृथ्वीमा ? के जागिर तेरो निर्वाण हो ? के अहिले केही दुष्टहरुले दुःख दिँदैमा तँ सम्पूर्णतः नष्ट हुने होस् र ? के जागिर बिनाका मानिसहरु बाँच्नै सक्तैनन् ? के कुनै मन्त्रालयको ‘सचिव’ भएपछि मान्छे अमर हुन्छ ? तँलाई हिजो पनि कसैले प्रशासक मानेको थिएन, लेखककै रुपमा रुचाइएको र काखी च्यापिएको थिइस्— सारा पाठकहरुद्वारा । संसारभरि छरिएका यति धेरै पाठकले माया गरेको लेखक कहिल्यै निरीह हुन्छ ? अनि, तँलाई दुःख दिने ती अपराधीहरु चैं अब सधैं सुखी नै हुन्छन्, अमर हुन्छन् भन्ने ठानेको छस् कि क्या हो ? यो त कुमालेको चक्र हो बाबै— घुमिरहन्छ । ‘कली आजको भोलि’ रे अचेल त झन । भगवान बुद्धको वचन बिर्सिस्— “सब्बे संखारा अनिच्चति” अर्थात् यस संसारमा कुनै पनि चिज स्थिर छैन । सबै कुरा परिवर्तनशील छन् । यो त चाकाचुलीको खेल हो, तलको माथि र माथिको तल भैरहन्छ । प्रत्येक सम्मानले कुनै न कुनै दिन अपमान भोग्नै पर्छ । यो संसार त दुःखपूर्ण छ नि यार— सब्बे संखारा दुख्खाति । त्यसैले त भगवानले भन्नुभयो नि— आफ्नो गतिको कारण तिमी आफैं हौ । आफ्नो भाग्यविधाता पनि तिमी आफैं हौ— “अता हि आतनो गति ।” त्यसैले आप्mनोलागि आफैं उज्यालो बन— अप्प दिपो भव ।” स्वामी शिवानन्दले भन्नु भएकै छ नि— “दुःख र असफलताको चिन्तै नगर, हुनसक्छ तिमी यो भन्दा पनि ठूलो कामका लागि जन्मिएका हौ ।”

जसलाई जति माथिल्लो उँचाइबाट खसालिएको छ, त्यत्ति नै बढी चोट लाग्ने हुनाले अहिले तँलाई अलि बढी दुखेको छ । कुरो त्यत्ति मात्रै हो । क्राइस्ट, राम, कृष्ण, कबीर, सीता, राधा, मीरा, अल्लाह, हरिश्चन्द्र, ध्रुव, प्रल्हाद, नानक, पाण्डव कस्का जीवनमा आएनन् र संकटका दिनहरु ? रामायण र महाभारत मात्र होइन, अठार वटै पुराणहरु; वाइवल, कुरान लगायत सबै धर्मका सबै पवित्र ग्रन्थहरु— सबै नै आँसुले लेखिएका करुणकथाहरु हुन् । जीवनको मूल करुणा र आँसु नै हो र तिमीले आँसुलाई बिर्सेका दिन धेरै नै नराम्रो गरी पछुताउनेछौ भन्ने ज्ञान पाठकलाई दिने उद्देश्यले जीवनकै अनुभवबाट रचना गरिएका ईश्वरीय अवतारका व्यथाहरु हुन् । सन्त माँ सुप्रियाले आफ्नै कार्यकक्षमा बोलाएर मीठो कफी पिलाउँदै तँलाई त्यत्रो बेर लगाएर सम्झाउनु भएका त्यति सुन्दर सुन्दर र प्रेरक कुराहरु पनि बिर्सिस् कि क्या हो ?

दर्शनको कुरो छोड् । टाढाको कुरो पनि छोड् । आफ्नै वरिपरि हेर् मूला । मानिसको जीवनमा मान र अपमान, आरोह र अवरोह, सुदिन र दुर्दिन, सम्मान र बदनामका चक्रहरु कसरी निरन्तर घुमिरहन्छन् भन्ने कुरालाई राम्ररी बुझ्न त स्वामी आनन्द चैतन्यकै जीवनलाई हेर न ! के मात्र पाएनन् तिनले जीवनमा ? अनि के मात्रै गुमाएनन् तिनले जीवनमा ? तर के कहिल्यै काम छोडे तिनले ? तिनको ‘साधना’मा निरन्तरता रह्यो र तिनले पाए, गुमाए अनि फेरि पाए । भगवानले लिन चाहे छाला पनि तरेर लिन्छन् र दिन चाहे छप्पर पनि फोरेर दिन्छन् भनेको यही होइन र ? अनि यति सशक्त र जीवन्त उदाहरण आफ्नै आँखाअगाडि हुँदाहुँदै तैंले मात्र यसरी शोक गर्न सुहाउँछ ? अनेकौं जीवित कुम्भीपाकहरुसँग जीवनभरि पौंठेजोरी खेलिरहनु पर्ने मान्छेले यसरी कमजोर हुन मिल्छ ? मानिसको जातै यस्तो हो कि आफूलाई पर्दा वकिल भएर प्रतिवाद गर्छ र अर्कालाई पर्दा न्यायाधीश भएर फैसला गर्छ । तेरा विरुद्धमा पनि धेरै न्यायाधीशहरु देखिए एकैपटक— प्रायोजित अखबारहरुमा, फेसबुकमा, विभिन्न निजी ब्लगहरुमा, ट्वीटरमा र अन्य साहित्यिक तथा सामाजिक समारोहहरुमा । तर जतिसुकै चौतर्फी प्रहार भए पनि तैंले के बुझ्नु जरुरी छ भने संसारका सबै वस्तुहरु प्रहारपछि टुट्छन् तर मान्छे नै एक यस्तो चिज हो जो चोट लागेपछि झन परिपक्व हुँदै जान्छ । चोटले त भ्यालु एड गर्छ मान्छेमा । यो चोटका कारणले आफूलाई नढाल, नहोच्या र नभत्का प्रतीक । भत्केको घरका त इँट पनि उठाएर लान्छन् मान्छेले । तर ठाडो भित्तोलाई कसैले चलाउँदैन । तसर्थ, तँ पटक्कै कमजोर नहो । तँ त आफैं संसार होस् नि यार, किन यस्ता झिनामसिना र बकम्फुसे कुरामा अल्झिरहेको ? जे कुरामा पनि खुशी हुन सिक, रमाउन सिक, साक्षीभावले मात्र हेर्न सिक् र गजलगुरु सनतकुमार वस्तीको यो गजलले भनेझैंको भाव आफैंभित्र उमार ढकाल जेठा ।

“तिमी फूलझैं मुस्कुराएर बाँच
गजल जिन्दगी मुस्कुराएर बाँच
विषालु घृणाका जति तीर लागून्
तिमी प्रीतको गीत गाएर बाँच
विपद्का अँध्यारा जति रात आउन्
तिमी जून भै जगमगाएर बाँच
जति जिन्दगीले जलाएर राखोस्
तिमी धूप भै मगमगाएर बाँच”

बुद्धपुरुषहरु समयभन्दा अगाडि नै जन्मन्छन् र दुःख पाएको इतिहास बनाएर युगसँग बिदा लिन्छन् । व्यक्तिको चेतना चाँडो उठ्छ, तर समग्र समाजको चेतना उही स्तरमा उठिहाल्न सक्तैन । आचार्य रजनीश जन्मेको गाउँमा अझै पनि बत्ती, पानी जस्ता आधारभूत सुविधा पनि पुगेका छैनन् । बल्ल एउटा प्राइमरी स्कूल खुलेको छ रे त्यहाँ । तर आप्mनो जीवनकालमा एकलाख भन्दा बढी पुस्तक पढ्ने अध्येता उनै थिए । अमेरिकाजस्तो शक्तिले समेत थाम्न नसकेर मन्दविषको प्रयोग गरी मारिएका आजका सुकरात उनै थिए । यिशु ख्रिष्टलाई झुण्ड्याउँदा उनकै शिष्यहरुले समेत विरोध गर्न सकेनन् । सुलीबाट उतार्न समेत अपहेलित तीन जना महिलाहरु मार्था, मरियम र मेकदेलेना बाहेक कोही अरु अघि सरेनन् । आज आधा संसार उनकै भक्तहरुले ढाकिएको छ । करबलाको युद्धमा शहादत प्राप्त गरेका महात्मा हसन हुसेनको नाममा आज पनि मुसलमानहरु छाती पिट्छन् । “या अली या अली” भन्दै आफैंलाई कोर्रा बर्साएर रक्ताम्मे बनाउँछन् । तर उनको जीवनकालभरि कहिल्यै सम्मान भएन । सुकरातलाई विष पिलाइयो । मीरालाई विष पिलाउने निर्णय पनि सर्वसम्मत थियो । सन्त कबीरलाई हातखुट्टा बाँधेर गंगाजीमा मिल्काउनमा पण्डित र मौलबीहरुको अभूतपूर्व एकता भएको थियो । यस्ता युगपुरुषहरुले यतिका वितण्डाहरु ब्यहोर्नु परेको थियो भने तँ चैं को होस् नि सबैले सम्मानै गर्नु पर्ने ? यति थाहा पाएर पनि किन झोक्राउनु पर्छ तैंले ? अनि यो निराशाको खेती किन नि फेरि ?

उठ पार्थ, मर्ने पनि मैं हुँ र मराउने पनि मैं हुँ । गर्ने पनि मैं हुँ र गराउने पनि मैं हुँ । यो मेरै लीला हो । तिमी त निमित्त मात्र हौ अर्जुन । अझ तिमी त निमित्तार्जुन मात्रै हौ । सबै कुरो त पहिले नै तय भैसकेको छ; बस्, तिमी कुशको बाहुन भएर उभिइदेऊ । भीष्म, द्रोण, जयद्रथ, कर्ण जस्ता महारथीहरुलाई मैले पहिले नै मारिसकेको छु । तिमीले त यसो छोइदिने मात्रै हो । हे सव्यसाची (अर्जुन), उठ, धनुष उठाऊ र यसो छोइदेऊ ।

“मयैवैते निहताः पूर्वमेव
निमित्तमात्रं भव सव्यसाचिन् ……….” (श्रीमद्भगवद्गीता ११ः३३)

“ईश्वरः परमः कृष्णः सच्चिदानन्द विग्रहः
अनादिरादिगोविन्दः सर्वकारणकारणम्” (ब्रह्मसंहिता ५ः१)

जब निमित्त मात्रै हुनु छ र सबै कारणहरुका पनि कारण स्वयं भगवान् श्रीकृष्ण नै हुनुहुन्छ भने फेरि अलमल किन त ? बरु हिँड्नै हतार गरे सुरक्षित ठाउँमा त पुगिन्छ । सुरक्षित ठाउँमै पुगिसकेपछि त सुरक्षाको पहिलो सर्त खानेकुरा पनि त पाइएला केरे !

उठ् जोगी फट्कार छाला
जहाँ जाला त्यहीं खाला…..

त्यसपछि हामी साँच्चै नै फर्कियौं खप्तडबाट । त्यसपछि हामी बिना हिच्किचाहट ओरालियौं खप्तडबाट ।

मेरो मन फूल जस्तै हलुंगो भएको छ अब ।

साँच्चै, मभित्र कुनै गुनासो छैन । कसैप्रति पनि छैन अब ।

खप्तड, तिम्रो दर्शनले म कृतकृत्य भएको छु ।

खप्तड, तिम्रो यो शिक्षाबाट म अझै दीक्षित भएको छु ।

( चार वर्ष वेस्ट सेलरमा पर्न सफल ढकालको नियात्रा अानन्दभूमिको अाँगनबाट)

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १०:५३