१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

भारतले टिकटक लगायत ५९ वटा चिनियाँ एपमाथि लगायो प्रतिबन्ध

१६ असार, एजेन्सी । भारतले टिकटकलगायत ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको छ । भारतले टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एपहरुमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको हो। भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेका थिए।

भारतीय सूचना प्रविधि मन्त्रालयले सोमबार नै फोन कम्पनीहरुलाई यी एप प्रतिबन्ध लगाउन आदेश दिएको हो। मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै एप्लिकेसनहरुमा प्रतिबन्ध लगाउनुपर्ने बहस चलिरहेको थियो। दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ।

चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि भारत र चीन सम्बन्धमा तीक्तता आइरहेको छ। चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति : June 30, 2020 at 11:56 am