८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

जुवा खालबाट समातिएका नेकपाका नेतासहित १० जना जनही ५ हजार धराैटीमा हिरासत मुक्त

-प्रतिमा ढुंगाना 

९ असार, नुवाकोट । जुवा खालबाट समातिएका नेकपा नुवाकोटका नेतासहित १० जना धरौटी बुझाएर प्रहरीहिरासतबाट मुक्त भएका छन । सोमबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको इजलाशले जुवाखालबाट समातिएका उनीहरूलाइ जनही ५ हजार धरौटी लिएर हिरासतमुक्त गर्न आदेश दिएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहयाक प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका सूचना अधिकारी बद्रीनाथ गैरेले प्रमुख जिल्ला अधिकारीले पोखरेलको अादेशमा जनही ५ हजार रूपैयाँ धराैटी बुझाएर १० जना रिहा भएको दैनिकीलाइ जानकारी दिए । उनले मुद्दाको अन्तिम किनारा लाग्दा सजाए तोकिने बताए ।

गैह्रेका अनुसार धराैटीमा रिहा हुनेमा विदुर नगरपालिका–२ बस्नेहरू सोही होटलका सञ्चालक २८ वर्षीय दिलबहादुर तामाङ, ५१ वर्षीय ठाकुर पुडासैनी, ३४ वर्षीय दीपक सिंखडा, ५१ वर्षीय पदम उप्रेती, ३५ वर्षीय दिपेन्द्र वली, ३७ वर्षीय बिष्णु न्यौपाने, ३३ वर्षीय बासु गजुरेल, ४० वर्षीय डम्मर श्रेष्ठ, ४८ वर्षीय नारायणजी राई र ३४ वर्षीय भीम खतिवडा रहेका छन् ।

तस्बीरमा नेकपा नुवाकोटका जिल्ला कमिटी सदस्य पदम उप्रेती, नेकपाकै जिल्ला सल्लाहकार परिषद्का सभापति ठाकुर पुडासैनी र प्रभु बैंंकको बट्टार शाखाका प्रबन्धक दीपक सिंखडा । तस्बीर स्रोतः सम्बन्धित व्यक्तिको फेसबुक

रिहा हुने मध्येका पुडासैनी नेकपा नुवाकोटको सल्लाहकार परिषद्का सभापति हुन, त्यस्तै उप्रेती जिल्ला कमिटीका सदस्य हुन । त्यस्तै सिंखडा प्रभु बैंकका बट्टार शाखाका प्रबन्धक हुन । नेकपाका सांसदहरूले पक्राउ परे लगत्तै उनीहरूको रिहाइका लागि दबाब दिए पनि प्रहरी प्रमुख एसपी अवि नारायण काफ्लेले कानुन सबैका लागि समान हुने भन्दै कानुन अनुसार कारबाहीको प्रकिया अघि बढाएका थिए ।

पाँचहजार धराैटीमा रिहा भएलगत्तै प्रभु बैंकका शाखा प्रबन्धक सिंखडाले तास खलेर अाफूहरूले राम्रो काम गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन । प्रहरीले जुवाखालबाट रंगेहात पक्राउ गरेर हिरासतमा राखेको विषयमा समाचार मार्फत बाहिर ल्याएको भन्दै उनीले धम्कीपूर्णमा लेखेको स्टाटसमा सेयर र प्रतिक्रिया मागेका थिए । यद्यपी केही घण्टामै उनले अाफ्नो प्रतिक्रिया हटाएका छन ।

सिंखडाले फेसबुकमा यस्तो लेखेका छन 

मेरा नजिकका बौद्धिक पत्रकार मित्रहरु । एउटा बैंकर जो आइतबारदेखि शुक्रबार सम्म बिहान ९ बजेदेखी बेलुकी ७ बजेसम्म बैंकमा ब्यस्त हुन्छ । शनिबार बिदाको दिन खाजा खाँदा, होटेल जाँदा, साथिभाइसँग भेटघाट र रमाइलो गर्दा, भनौँ तास ( बौद्धिक खेल म्यारिज जुन मोनोरोगिहरुलाइ डाक्टरले खेल्न भनिन्छ) खेल्दा या हेर्दा जुवाडे बन्छ भनेर लेख्ने पत्रकारलाई म के भनौ ?

तपाईं कुन पत्रकारिता गर्दैहुनुन्छ?? श्वेत या पित ? घटना के हो ? परिदृश्य के हो ?समाचार के हो ? लेख के हो ?रचना के हो ? बास्तबिकता के हो ? यसको गहिराइ के हो र आधिकारिकता के हो भन्ने थाहा नपाइ तपाइले कुनै अन्लाइनमा छापिरहदा, कुनै व्यक्तिले सुराकीको भरमा चौकी पुर्याइरदा, तपाईं थपडी मारी टोलभरिकालाइ जम्मा गराइरहदा लागेन तपाइलाइ रत्तिभर सरम , लागेन भोलि त्यहि दाजुभाइ साथी चाहिन्छ भनेर ?
जिल्लामा म र मेरो बैंकले तपाइको गाउँ ठाउमा गयेर बैकिङ सेवा दियेको भुल्दा लाज लागेन तपाइलाइ जहाँ जो कोहि बैक जान नमानेको अवस्था थियो ।आज प्रभु बैक नुवाकोटले प्रत्येक वाडाबाट स्याबासी पाउँदा, नगरपालिका बाट प्रशम्सा पाउँदा स्वयम् हेड अफिसबाट स्याबासी पाउँदा तपाइले समाचार बनाउने कष्ट
कुनै बेला गर्नु भो ? के एउटा कर्तब्यनिष्ट बैकरलाई राजनितिक चङुलमा पारेर उसको ब्यक्तिगत विवरण चोरी चरित्र हत्या जस्तो जघन्य अपराध गर्ने सुनियोजित समाचार नै तपाईं को अनलाइन पोर्टल को खजना हो ?

मेरो संस्था प्रभु बैंक, मेरो पद र म सग जोडेर दुश्प्रचार गर्ने अधिकार न तपाइलाइ छ न कानुन मै छ। अहिलेको लकडाउन बाहिर जान नहुने अब्स्थामा मनोरन्जन्को लागि फुर्सद भएसम्म डाक्टर,वकिल,शिक्षक,पत्रकार,बैकर,सरकारी कर्मचारी, ब्यापारी,विद्यार्थी,गृहिणी,आर्मी,पुलिस कस्ले खेल्दैन अचेल तास (म्यारिज) ? के सबै जुवाडे तपाइको पत्रकारितामा ?

त्यसकारण कृपया संस्थासँग नाम जोडेर संस्थागत तथा व्यक्तिगत चरित्र हत्या हुनेगरी पत्रकारिताको मर्म भावना लाई लत्याइ आफ्नो पेशागत ख्याल नगरी कुनै समाचार नलेखिदिनुहुन अनुरोध गर्दछु । दिपक सिम्खडा, शाखा प्रबन्धक प्रभु बैंक लि, बट्टार शाखा ।

प्रकाशित मिति : June 23, 2020 at 7:51 pm