७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

तनहुँमा पिसिआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो

५ असार, तनहुँ । तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी दशवटै पालिकाको लागत सहभागितामा पिसिआर परीक्षण मेशिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ । कोभिड–१९ का बिरामी बढ्दै गएको अवस्थामा जिल्लामै पिसिआर मेशिन भए कोरोना परीक्षणमा सहज बनाउन सकिने उद्देश्यले यहाँका पालिकाले मेशिन खरिद प्रक्रिया अघि बढाइएका हुन् । दशवटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिएको छ ।

नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेशिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाएअनुरुप पिसिआर परीक्षण मेशिन खरिद प्रक्रिया अघि बढाएको हो । पसिआर मेशिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ प्रतिशत रहेको छ भने व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाको १२÷१२ प्रतिशत लागत सहभागिता रहेको छ ।

त्यसैगरी म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिको नौ/नौ र देवघाट गाउँपालिकाको पाँच प्रतिशत लागत सहभागिता रहेको छ । पिसिआर मेशिन एक/दुई दिनमा अघि बढ्छ । “मेशिन मात्रै खरिद गरेर भएन”, उपप्रमुख रसाइलीले भन्नुभयो, “ल्याब तथा भौतिक संरचनालगायतका निर्माण कार्य गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ ।”

शुक्लागण्डकी नगरपालिकाले सबै पालिकालाई परिपत्र गरेपछि आफूले दिनुपर्ने दायित्व शुक्लागण्डकी नपाको खातामा रकम जम्मा गर्ने र त्यसले पनि अपुग भए पालिका कार्यालयले अझै थप्न तयार रहेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले बताउनुभयो । पिसिआर परीक्षणको लागि प्रयोगशाला जिपि कोइराला स्वासप्रस्वास केन्द्र बेलचौतरामा राख्ने सहमति भए पनि त्यहाँबाट प्रदान गरिने भवनबाट मात्रै कार्य सम्पादन गर्न कठिनाइ देखिएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका विषयमा छलफल गरी क्वारेन्टिनमा रहेका व्यक्तिको पिसिआर परीक्षणको लागि सहज बनाउन जेठ अन्तिम साता बसेको पालिकास्तरीय बैठकले पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेको थियो । पिसिआर मेशिनसहितको पूर्वाधार निर्माण गर्न रु एक करोड लाग्ने अनुमान रहेकोले दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिता जनाएका हुन् ।

नेपाल सरकारले तोकेको मापदण्डबमोजिमको पिसिआर मेशिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मा शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको प्रक्रियागत कार्य भइरहेको बताइएको छ । पिसिआर मेशिन खरिद भइसकेपछि प्रयोगशालाको लागि आवश्यक जनशक्ति गण्डकी प्रदेशसँग माग गर्ने बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : June 19, 2020 at 10:52 am