६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

तरकारी खेतीमा रमाउँदै वडाध्यक्ष आचार्य

१ असार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य कृषि पेशाबाट मनग्य आम्दानी गर्नुहुन्छ । वडा नं ६ नरपानीको जगातमा घर भएका उहाँ पाखो बारीमै तरकारी खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न सफल हुनु भएको छ । राजनीति गर्ने मानिसले अरुलाई देखाउन र आकर्षित गर्न पनि केही गर्न आवश्यक रहेको उहाँको धारणा छ । ”“राजनीति गर्न आफू सक्षम हुनुपर्छ आफैँ व्यवसाय गरे मात्र अरुलाइ सिकाउन सकिन्छ ”उहाँ भन्नुहुन्छ, “आफूहरुले काम नगर्ने, अरुलाई यस्तो गर उस्तो गर भनेर हुँदैन, यसरी गरेमा हुन्छ भनेर देखाउनुपर्छ भन्ने अभियानमा लागेको छु ।”

उहाँ मौसमी तथा बेमौसमी तरकारी खेती गरेर खर्च कटाई वार्षिक रुपमा रु ६ लाख आम्दानी गर्नुहुन्छ । बिहानबेलुका घरमा तरकारी खेती र गाईभैँसीको स्याहार गर्ने र दिउँसो कार्यालय तथा अन्य जिम्मेवारीमा खटिने उहाँ भन्नुहुन्छ, “आफ्नो काम गरेर खान केको लाज, कृषकको छोरा हुँ, कृषि नै मेरो मुख्य पेशा हो । दूध र तरकारी बेचेरै मेरो घर खर्च चलेको छ । त्यसैले यो कामलाइ निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो ।

छ वर्षदेखि उहाँले घरको दूध नरपानीमा लगेर बिक्री गर्दै आउनुभएको छ । उहाँका घरमा अहिले उन्नत जातका दुई मुर्रा भँैसी र एक जर्सी गाई दुहुना छन् । दैनिक १२ लिटर दूध बिहान नरपानीमा लगेर बेच्ने गरेको उहाँले बताउनुभयो । बेलुकाको दूध भने घरबाटै बिक्री हुन्छ । “आफैँ नगरेसम्म अरुलाई मुखले भनेर मात्र नहुने र परिवर्तन आफँैबाट गर्नुपर्छ”, उहाँको मान्यता छ ।

प्रकाशित मिति : June 15, 2020 at 4:14 pm