अधुरो खानेपानी योजना पूरा गरिदिन रसुवाबासीकाे माग
३२ जेठ, रसुवा । विगत वर्षदेखि निर्माण शुरू भएको खानेपानी योजना पूरा गरिदिन सस्र्युँ गाउँबासीले माग गरेका छन् । नौकुण्ड गाउँपालिका वडा नं ६ सस्र्युँ र दारघारी गाउँका १७९ घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्न परिवर्तन नामक गैससरकारले चार वर्षअघिदेखि निर्माण शुरू गरेको काम अधुरा अवस्थामा छाडिदिँदा खानेपानीको समस्या भएको स्थानीय उपभोक्ताले माग गरेका हुन् । परिवर्तनले जुरे ढुङ्गाको फेदको गलाङ्घुमी मुहानबाट पङ्दोम्राङसम्म पानी पुर्याए पनि त्यहाँबाट गाउँसम्म एक किलोमिटर दूरीको काम अधुरै छाडिएको छ ।

कालिकास्थानबाट पूर्वतर्फ रहेको सस्र्युँ एवं दारघारी भूभागमा छरिएर रहेका बस्तीका बासिन्दालाई सुख्खा मौसममा पानीको समस्या परिरहेको छ । गाउँबासीको चाहना र टड्कारो आवश्यकता परिपूर्ति गर्ने उद्देश्यका साथ सं अगाडि बढाइएको खानेपानी निर्माण छिटो सञ्चालन गरिदिन सम्बन्धित संस्थासामुु आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति रसुवाका पूर्वअध्यक्ष पासाङ तामाङले बताउनुभयो ।
विसं २०३६ मा रसुवा नुवाकोट ग्रामीण विकास परियोजनाअन्तर्गत ग्रामीण बस्तीमा खानेपानी व्यवस्था गर्ने कार्ययोजनानुरूप रसुवाकै इतिहासमा पहिलो पटक सस्र्युँमा पोलिथिन पाइप बिच्छ्याई पानीको व्यवस्था भए पनि जनसङ्ख्याको वृद्धिदरसँगै थप धाराको आवश्यकता भएको समाजसेवी तामाङले बताउनुभयो ।
एकचालीस वर्ष पहिले नुवाकोट बगुवा बजार निवासी तत्कालीन ओभरसियर(हाल इञ्जिनीयर) रामप्रसाद रिमालले दिनुभएको प्राविधिक ज्ञानबाट गुणस्तरीय तवरले निर्माण भएकै कारण अहिलेसम्म पहिलो योजनाले थोरबहुत खानेपानीको सुविधा दिइरहेको भए पनि जनसङ्ख्याकोे चापले दिनप्रतिदिन पानी अपुग हुँदै गएकाले थप खानेपानी व्यवस्थापन छिटो सम्पन्न गरिदिन ज्येष्ठ नागरिकले समेत आग्रह गर्नुभएको छ । सस्र्युँ दारघारी खानेपानी योजना अधुरो अवस्थामा छाड्ने संस्थासँग समन्वय गरी योजना पूरा गराइने जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले जानकारी दिनुभयो ।
प्रकाशित मिति : June 14, 2020 at 12:39 pm





