७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

अन्नपूर्णबाट हरिबहादुर थापाको राजिनामा, पत्रकार निकाल्ने व्यवस्थापनको प्रस्ताव अस्वीकार

२८ जेठ, काठमाडौँ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले अन्नपूर्ण पोस्टबाट बाहिरिने निर्णय लिएका छन । व्यवस्थापनले विगत तीन महिनादेखि पत्रकार कटौती गर्न र राखिने पत्रकारको समेत तलब कटौती गर्न दबाब दिएपछि उक्त दबाब अस्वीकार गर्दै आफैँ बाहिरिने निर्णय गरेका हुन ।

अन्नपूर्ण पोस्टमा कार्यरत पत्रकारहरूका अनुसार थापाले मौखिक रूपमा प्रकाशक रामेश्वर थापालाइ राजिनामाबारे जानकारी गराइसकेका छन भने लिखित रूपमा भोलि बिहीबार राजिनामा बुझाउने तयारी गरेका छन । झण्डै तीन महिनादेखि जारी लकडाउनको असर महत्वपूर्ण मानिएका मुलधारका सञ्चारमाध्यममा पनि परेको छ ।

अन्नपूर्णले आम्दानीको स्रोतमा कटौती भएपछि व्यापक रूपमा पत्रकार निकाल्ने तयारी गरेको थियो । व्यवस्थापनको प्रस्ताव अस्वीकार गर्दै प्रधानसम्पादक थापाले तलब कटौती समेत गर्न नहुने तर्क गर्दै आएका थिए । पछिल्लो समय सामाजिक सञ्जालमा समेत विभिन्न सञ्चारमाध्यमका पत्रकारको पीडामा प्रधानसम्पादकरू नबोलेको भन्दै आलोचना समेत भएको थियो ।

थापाले झण्डै २२ महिना अन्नपूर्णमा बिताएका छन । थापा २०७५ साउनमा अन्नपूर्ण पोस्टमा प्रवेश गरेका थिए । उनले त्यसअघि २६ वर्षसम्म कान्तिपुरमा बिताएका थिए । क्षमतावान पत्रकारको छवी बनाएका थापा भ्रष्टाचारविरूद्धका अभियन्ता समेत हुन । उनलाइ गत वर्ष गोगो फाउण्डेसनले उत्कृष्ट पत्रकारको अवार्ड समेत प्रदान गरेको थियो ।

नयाँ सम्पादकमा भण्डारी !

अन्नपूर्ण व्यवस्थापनले दुइ सम्पादक मध्येका रोल नम्बर १ सम्पादक अखण्ड भण्डारीलाइ प्रधानसम्पादको जिम्मेवारी दिने अनुमान गरिएको छ । अन्नपूर्ण स्रोतका अनुसार पत्रकार र तलब दुबै कटाैती गर्ने व्यवस्थापनको प्रस्तावमा भण्डारीले यसअघि नै सहमति जनाइसकेका छन । भण्डारी पनि २०७५ साउनमा थापासँगै कान्तिपुरबाट बाहिरिएर अन्नपूर्ण पोस्ट प्रवेश गरेका थिए ।

प्रकाशित मिति : June 10, 2020 at 6:40 pm