७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दुईजनामा काेराेना पुष्टिसँगै कास्कीको रुपा गाउँपालिकामा ३० श्ययाको आइसोलेशन वार्ड निर्माण

२८ जेठ, चिप्लेढुङ्गा । कास्कीको रुपा गाउँपालिकाले क्वारेन्टिनमा बसेका दुईजनामा कोरोना पुष्टि भएसँगै थप सजगता अपनाएर आइसोलेशन वार्ड निर्माणमा जुटेको छ । आइसोलेशन वार्ड निर्माणका लागि गाउँपालिकास्थित उपयोगविहीन अवस्थामा रहेको अदिमभूमि संस्थाको तालिम केन्द्र भवनलाई मर्मत सम्भार गरी व्यवस्थित बनाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

“सङ्क्रमण बढ्यो, बाहिरबाट आउनेक्रम पनि जारी छ, दुईजनामा सङ्क्रमण देखिएसँगै हामीले थप व्यवस्थित गरेर यसको रोकथाम र नियन्त्रणको प्रयासमा लागेका छौँ”, उहाँले भन्नुभयो, “कोरोना रोकथामको विषयमा हामी शुरुदेखि नै संवेदनशील बनिरहेका छौँ, सरकारले बन्दाबन्दी जारी गरेसँगै क्वारेन्टिन बनाएर बाहिरबाट आउनेलाई राखेर सजगता अपनाइरहेका छौँ, अहिले परिस्थिति थप जटिल बन्दै गएको छ, यसबाट गाउँमा थप सङ्क्रमण नफैलियोस् र तुरुन्तै उपचार होस् भन्ने उद्देश्यले अदिमभूमिको भवनलाई ३० श्ययाको आइसोलेशन वार्ड बनाउने लागेका हौँ ।”

फाइल फाेटाे

अध्यक्ष ओझाका अनुसार यसअघि गाउँपालिका–७ स्थित रामकोट मावि क्वारेन्टिनमा ३० जनालाई राखिएको थियो । तीमध्ये दुईजनामा कोरोना पोजेटिभ देखियो । हाल उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा उपचार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निर्देशनमा उक्त आइसोलेशनमा राखिनेछ । गम्भीर प्रकृतिका लक्षण देखिएका र भेन्टिलेटरको आवश्यकता पर्नेलाई भने अस्पताल नै पठाउने अध्यक्ष ओझाको भनाइ छ ।

उक्त भवन मर्मत सम्भारका लागि करिब रु १० लाख खर्च लाग्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । भवन परिसरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आइसोलेशन व्यवस्थापनमा खटिने सबैलाई आवास उपलब्ध गराउने गरी तयारी भइरहेको छ । शुरुमा क्वारेन्टिनका रुपमा प्रयोग गर्ने र आवश्यकता भएपछि आइसोलेशन बनाउने गरी भवनलाई व्यवस्थित गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।

प्रकाशित मिति : June 10, 2020 at 6:11 pm