२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

सिंगापुरमा लकडाउनको अवधि जुन १ तारिखसम्म थप


१० वैशाख, सिंगापुर । सिंगापुरमा जारी आंशिक लकडाउनको अवधिलाई थप चार हप्ता बढाएर आगामी जुन १ तारिखसम्म पुल्याइएको छ । सिंगापुरमा कोरोनाभाइरसका संक्रमित व्यक्तिको संख्या नौ हजार नाघिसकेको छ । प्रधानमन्त्री ली हेसियन लूङले मंगलबार टेलिभिजनबाट संबोधन गर्दै हालका कडा प्रावधानहरुलाई आगामी मे ४ सम्म यथावत राखिने बताउनुभयो । उहाँले मे ४ पछि पनि हालका कडा नियमहरुलाई पूर्ण रुपमा हटाउन असमर्थ छौं भन्दै परिस्थितिलाई राम्रोसँग मूल्याँकन गरेर नै अरु चार हप्ता आंशिक लकडाउन कायम गरिएको स्पष्ट गर्नुभयो ।

उहाँले समुदाय स्तरमा संक्रमितको संख्या घटेको अवस्थामा लकडाउनका कतिपय कठोर प्राबधानलाई परिमार्जन वा संशोधन गरिने बताउनुभयो । प्रधानमन्त्री लूङले सरकारले आंशिक लकडाउनको अवधि लम्ब्याएकामा धेरै व्यक्ति अप्रसन्न भए पनि यो बाध्यकारी हो भन्नुभयो । “खासगरी हाम्रा व्यवसाय र कामदारहरुलाई यस लकडाउनले सबैभन्दा बढी असर पारेको छ ।

तर यो छोटो अवधिको दुःखले भाइरसको महामारीलाई परास्त गर्न मद्दत पुग्नेछ, स्वास्थ्यमा सुधार ल्याउन तथा आफ्ना मानिसलाई महामारीबाट जोगाउन सकिनेछ ।” सिंगापुरमा जारी आंशिक लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका अधिकांश व्यवसाय र स्कुलहरु बन्द गरिएका छन् । मंगलबारसम्म सिंगापुरमा ९ हजार १२५ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १३:३५