१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

जीवन रोजौँ भ्रमको बीउ नछरौँ

-अमृत गिरी 

देश बाहिरको श्रम बजार अझै बाध्यात्मक नै छ तर यसलाई स्वेच्छिक बनाउने तयारीमा सरकार छ । देशभित्रको श्रम बजार, अनौपचारिक तथा असंगठित श्रम क्षेत्रमा लाखौं मानवसंसाधन संलग्न छ । महामारी विरुद्धको एउटा प्रभावकारी अस्त्रका रुपमा रहेको बन्दाबन्दीको सुरुको दुई साता सहेर बसेका मजदुरले तेस्रो सातापछि “काम नगरीकन कोठामै खुम्चिनुभन्दा त बरु घरै फर्किुनु बेस” बनेर पोकापन्तुरा बोकेर निस्किएका हुन् । हो यहीँनीर केही योजना बनाउन तीनै तहका सरकार चुके वा ढिलाइ भयो ! अब ढिलाई नहोस् सरकारले त्यसप्रकारका समुदायको समस्यालाई शीघ्र समाधान गर्ने काम गरोस् । प्रभावकारी योजना बनाउन ढिलाई नगरियोस् ।

यहीँ क्षणिक ढिलाईलाई यसरी प्रचारबाजी भयो कि छिमेकी भारतका फोटालाई इडिट गरेर, एनिमेशन गरेर “लौ हेर मजदुर मारा सरकार” भनियो/लेखियो । झकझकाउनु, आँखा देखाउनु, समन्वय गर्नु, चेतनाका काम गर्नेहरु पनि छन् । तर छिटो त्यहीँ चिज बिक्यो/बिकीरहेछ जुन राज्यसत्ताको उछितो काढेको होस् !

बन्दाबन्दी भनेको कष्ट, पीडा, छट्पटी भोगेरै, सहेरै जहाँ छौं त्यहीँ बस्ने नै हो । यसो भनिरहँदा जो जहाँ छ त्यो ठाउँबाट केही पर रहेको आफ्नो घरसम्म जान पाए हुन्थ्यो भन्नेहरुका कुरा पनि अस्वभाविक होइनन् । प्रदेश ५ सरकारले बाटोमा हिड्ने सबैलाई तत ठाउँमा खानेबस्ने व्यवस्था गर्दै प्रहरीको सहकार्यमा क्वारेन्टाइन तयार पारेको छ । त्यहीँ गएर बस्न प्रेरित गरौं । अहिले ठाउँठाउँमा खाना खुवाउने र गाडी खोजेर पठाउने मेसो जारी छ । यस्तो मेसोमा स्थानीय पालिका, समाजसेवी मनकारीहरु खटिएका छन् उनीहरूलाई सम्मान छ । यद्यपि भावनामा बगिरहेको बेला त्यसका साइडइफेक्टले घेराबन्दी गरेको मेसै पाउँदैनौं ।

मेसो नपाइनपाइ कहिले कुन नेतालाई सराप्छौं, कहिले सरकार प्रमुखका अपीललाई तोडमोड गर्छौं त कहिले आफै सर्वेसर्वा समेत बन्छौं । वाक/अभिव्यक्ति स्वतन्त्रताको यसरी उच्चत्तम उपयोग गरिरहेका छौं कि आफु र आफ्नाको जीवन “भाँडमे जाए ! ” कोरोनाको महामारी हामीकहाँ मात्रै होइन विश्वभरी छ । हामीभन्दा कैयौं गुणा शक्तिसम्पन्न मुलुक समेत हावाखावा भइरहेका छन् । यदी हामीकहाँ अहिले नै सावधानी अपनाएर कष्ट सहेनौं भने भोलि महाव्याधि आउँदाको भयावहको क्षति अकल्नीय हुनेछ ।

हाम्रा साधनस्रोत, हाम्रा प्राविधिक जनशक्ति र हाम्रो आर्थिक अवस्थालाई सबल बनाउने काम धेरै ढिला भएको हो । दुई अढाई सय वर्ष अघिदेखि हुनुपर्ने काम यहीँ दुई अाढाई वर्षमै सम्भव हुने कुरै होइन । तर सरकारले जे जति गरिरहेको छ यो सराहनीय छ । सत्य र तथ्य चटक्कै छाडेर भ्रम, अफवाह र पूर्वाग्रहलाई मात्रै मन मस्तिष्कमा राख्दा सरकारले गरेका कामहरू मन नपर्न सक्छ । सरकारमा आफ्नो राजनीतिक आश्थाभन्दा इतरको नेता पुगेका बेला सब खत्तम देख्ने अरुबेला रामराज्य भनेर फलाक्नेलाई महामारी नलागोस् किनकि उसले अन्तर भोगिरहन पाओस् ।

राजनीतिक प्रतिस्पर्धालाई जसले जुन रुपमा अर्थाए पनि हुने भएको छ । चुनावमा लडेर, जनताको मन र मत दुबै जितेर संविधानको असली कार्यान्वयन गर्नेगरी नयाँ सरकार बनेको हो । संविधान अनुरुपका नयाँ व्यवस्था गर्दै जाँदा यथास्थितिमा रजगज गर्नेहरुले सहने कुरै भएन । संविधानले परिकल्पना गरेका कामलाई अगाडि बढाउँदा, राष्ट्रिय कानुन बनाएर कार्यान्वयन गर्न लाग्दा मन्त्रीको व्यक्तिगत लाभका लागि भयो भनेर पनि दुस्प्रचार गरिए । जे जे भनेर भड्काउन सकिन्छ सबै भनियो/गरियो ।

नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको आन्दोलन संविधानसभाबाट संविधान जारी भएसंगै पूरा भएको छ । अब आर्थिक, सामाजिक अधिकार स्थापित गर्नुपर्ने काममा आवधिक र दीर्घकालीन योजनाका साथ सरकार केन्द्रित छ । तीनै तहले समृद्धि र खुशी/सुखीको नाराका साथ काम गरिरहेका छन् । बेथितिको पूरै अन्त्य भएको छैन । वर्षौंदेखिका बेथिति र तिनका बाहकहरु अनेक रुपमा सक्रिय नै छन् । तर बेथितिलाई निमिट्यान्न पार्नेगरि सरकार लागेकै छ । बेथितिको डंगुर सजिलोसँग र छिटै हटाउन गाह्रो नै पर्छ किनकि तपाईं हामी आदर्श नागरिक पनि मौका छाड्दैनौं ! अहिले महामारी विरुद्ध एकताबद्ध बनौं, स्वनियममा बसौं ! सरकारको सत्तोसराप पनि घरमै बसेर गरौं, घरमै बस्न प्रेरित गरौं ।

(लेखक गिरी प्रेस संगठन नेपाल रुपन्देहीको संयोजक हुनुहुन्छ )

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १०:२६