रामकुमारी झाँक्रीज्यू एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुस् र विगत पल्टाउनुस्
-किरण देउजा
हुन त “कोटा” केन्द्रीय सदस्य र संसद भएका तर आफ्नो राजनीति भूगोल अहिलेसम्म टुंगो नलागेको एक थान सांसद/नेताको रोदन/क्रन्दन/छटपटाहठ, कुण्ठा अनि बेहोसीमा बोलेको/लेखेको कुरालाई यसरी लेख्न मन थिएन । तैपनी प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको ११ जनाको सुविधा नै होइन रहेछ । बीचमा सचिवालयमा २/३ जनासम्म दिएकोमा उनीहरुको सेवा सुविधा रोकिएको पनि निक्कै समय भैसकेको रहेछ । सांसद र केन्द्रीय नेता जस्तो मान्छे आफै सेलिब्रेटी हुन सिङ्गो देश र जनतामा के भ्रम फिजाएको होला ? भन्ने प्रश्नले पछिसम्म चिमोटी रहने भएपछि यहाँ केही कुरा गर्दैछु ।
हुनत तपाइँ जत्तिको नेतासँग के जोरी खोज्नु ? यद्यपी मैले केही प्रतिनिधि घटनाक्रम उल्लेख गर्न चाहेँ । माननीयज्यू तपाइँ अखिलको अध्यक्ष हुँदाका केही प्रतिनिधिमुलक घटना यहाँ राख्दैछु ।
-आफ्नो पक्षमा कुनै जिल्ला/क्याम्पस कमिटी भएन भनेर सबै कमिटी भंग गर्नुभो
-क्याम्पसमा अलोकप्रिय नेतालाई टिकट वितरण गर्नुभयो । कतिसम्म भने तपाइले टिकट दिएको टिम भन्दा लगभग १३०० भन्दा बढी मतले अनेरास्ववीयूको अर्को टिम नै विजयी बन्यो ।
-पिसिएल फेज आउट गर्न विश्व बैंकसँग लाखौं रुपैयाँको मोलमोलाइ (कमिसन/घुस लेनदेनको प्रमाण भेट्न मुस्किल हुन्छ) गर्नुभयो ।
-तत्कालीन समयमा २४० निर्वाचन क्षेत्रमा हरेक क्षेत्रमा एउटा सरकारी विज्ञान संकायको 10+2 लाने सहमति कहाँ पुग्यो ?
-अहिले नीति निर्माणको ठाउँमा हुनुहुन्छ, आफैँले तत्कालीन सरकारसँग गरेको सहमति/सम्झौता कार्यान्वयनमा कति लागि पर्नु भयो ?
यी प्रश्नहरू गर्दा तपाइँले फलानो पसलमा आउनुस खुट्टा भाँचिदिन्छु साले पनि भन्नसक्नुहुन्छ । यद्यपी तपाइँको हावाकारिता, अनुमानकारिता अनि इमोसनल कुरा गरेर जनतालाइ भ्रमित पार्ने दुष्प्रयासविरूद्ध तथ्यसहित बहसका लागि तयार भएको छु ।

तपाइँले सांसदले पाउने धेरै सुविधा मध्ये एउटा सुविधा हो, काठमाडौमा भाडामा बस्दा पाईने सुविधा । जुन श्रीमान् (तपाइँकै भाषामा आफ्नै घर होईन) को घरमा बसेर समेत लाजै नमानी घरभाडा लिनु भयो । अनि आफ्नै भदैलाई देखावटी स्वकीय सचिव बनाउदै स्वकीय सचिवले पाउने तलब झ्वाम पार्नुभो । त्यो चाहिँ आर्थिक अपचलनमा पर्दैन होला है ! घुस, कमिसन लेनदेन लगायतका नैतिक चरित्रसँग जोडिने विषयमा चाहिँ कहिले ध्यान जान्छ ? त्यस्ता विषयको चाहिँ पेश्की फर्छर्याैट गर्नुपर्दैन ?
माननीय ज्यु, तपाई अहिले प्रश्न गर्ने ठाउँमा होईन, जवाफ दिने ठाउँमा हुनुहुन्छ ।
लेखा/आर्थिक समितिले सेयर ब्रोकर संख्या बढाउने या नबढाउने भन्ने बारे एउटा समिति २०७६ साउन २९ गते बनायो । त्यसमा तपाइँ पनि हुनुहुन्थ्यो । जसले २ महिना भित्र प्रतिवेदन बुझाउने समयसीमा पाएको थियो । आजको दिनसम्म (२०७७ बैशाख ४ गते सम्म) पनि उक्त प्रतिवेदन बुझाउन सक्नु भएको छैन् । अनि आफूले नेतृत्व गरेर पनि केही गर्न नसक्ने त्यसपछि अरुलाई औंला ठड्याउनेले विचार विचार गर्न पर्छ कि पर्दैन ? अाफू जमिन माथि टेकिरहेको छु कि हावामा उडिरहेकी छु जान्नु पर्छ कि पर्दैन माननीज्यू ?
अहिलेसम्म सेयर ब्रोकर संख्या बढाउने/नबढाउने भनेर, अध्ययन गर्न भन्दै सरकारी खर्चमा ४ देश घुमिसक्नु भयो । के-के विषयमा कति अध्ययन गर्नु भयो त ? जनतालाई जानकारी दिनु पर्दैन ? माननीयज्यु, तपाईं अहिले प्रश्न सोध्न ठाउमा होईन जवाफ दिने ठाउँमा हुनुहुन्छ, त्यो नभुल्नु होला। मैले सम्झाएको मात्रै हो । खुट्टा भाँच्नका निम्ति कुनै चिया पसलमा निम्ता दिनुभयो त्यहाँ पनि अाउँला तर तपाइँअहिले प्रश्न सोध्ने हैन जवाफ दिने र दिन लगाउने ठाउँमा हुनुहुन्छ माननीज्यू ।
अब सेयर बजारमा हुने अति सामान्य हिसाब हेरौं ।
हरेक साता ५ दिन कारोबार हुन्छ।
एक दिनमा सरदर ८० करोडको करोबार हुन्छ। त्यसो हुँदा
– हप्तामा (५*८० करोड = ४ अर्ब)
-१ महिनामा १६ अर्ब को कारोबार हुन्छ।
सेयर ब्रोकरहरुले कुल कारोबारको ०.५५% कमिसन लिन्छन्/राख्छन्।
१६ अर्बको ०.५५% = ८ करोड हुन्छ।
अहिलेको ब्रोकरहरुले नयाँ ब्रोकर थप्न दिन चाहदैनन् किनभने, आफूले खाइरहेका/आइरहेको पैसा बाड्न चाहदैनन् । अझ भन्नुपर्दा अहिले भन्दा कम कमाई गर्न चाहदैनन् जुन मानवीय स्वभाव पनि हो । सजहै अनुमान लगाउन सकिन्छ, एउटा ब्रोकर संस्थाले, नयाँ ब्रोकर नथप्न २/४ लाख सजहै दिन सक्छन् । त्यसरी चलखेल भयो भने उक्त समितिका संयोजक र हरेक सदस्यको भगमा कति पर्ला ? आफैँ अनुमान गर्न सकिन्छ ।
दुइ महिनामा बुझाउनुपर्ने प्रतिवेदन अहिलेसम्म नबुझाउदा लाखौं/करोडौँको चलखेल भएको अनुमान हामीले गर्न पाउने कि नपाउने माननीयज्यू ? कमिसन र घुस आदि लिएको/खाएको ९९% प्रमाण फेला पर्दैन ! त्यो त तपाइँलाइ नै थाहा छ भन्नुस माननीयज्यूले तपाइँ हामीले चाहिँ जवाफ दिनुपर्छ कि पर्दैन ? र, अन्त्यमा एउट कुरा सोध्न चाहन्छु, माननीय ज्यु अझै कति इमोसनल कुरा गरेर गलत तथ्य दिएर मिडिया खपतको लागि बोल्नुहुन्छ/लेख्नुहुन्छ ? सत्यतथ्य कुरामा बहस गरौँ । आफूले पाएको जिम्मेवारी बहन गरेर उत्कृष्ट बनाैँ स्टन्ट गरेर हैन ।
तपाइँले अहिले प्रधानमन्त्रीको सचिवालको खर्चको कुरा गर्नु भएको र त्यसमा तपाइँलाइ पनि केही ज्ञानको कमी हो कि जस्तो लागेर २४ वटा प्रधानमन्त्रीले स्वकीय सचिवालका लागि कति रकम खर्च गरेका रहेछन भन्ने महालाखा परीक्षकको कार्यालयको तथ्यांक हेराैँ ।
प्रमको नाम /सचिबालयमा कति जना/ अवधी / राष्ट्रको कति खर्च हुन्छ सचिवालयको अन्य खर्च समेत ?
१)कृष्ण प्र भट्टराई २०४७ बैशाख देखि २०४८ जेठसम्म ४८ जना(५ करोड ४० लाख)
२)गिरिजा प्रसाद कोइराला २०४८ जेष्ठ देखी ५१ मङ्गसिर ४८ जना (१८ करोड )
३)मनमोहन अधिकारी २०५१ मङ्ग्सिर देखि ५२ भदौ सम्म १५ जना (३ करोड )
४)शेरबहादुर देउबा २०५२ भदौ १८ देखि ५३ माघ सम्म ४८ जना (१५ करोड)
५)लोकेन्द्र बहादुर चन्द २०५३ माघ देखि ५४ कार्तिक सम्म ४५ जना (६ करोड ५० लाख)
६)सुर्यबहादुर थापा २०५४ कार्तिक देखि २०५५ मङ्गसिर सम्म ४८ जना (१० करोड)
७)गिरिजाप्रसाद कोइराला २०५५ मङ्गसिर देखि ५६ जेस्ठ सम्म ४७ जना (६ करोड)
८)कृष्ण प्र भट्टराई २०५६ जेस्ठ देखि ५७ असार सम्म ४६ जना (१० करोड)
९)गिरिजा प्रसाद कोइराला २०५७ असार देखि २०५८ साउन सम्म ४७ जना (१२ करोड)
१०)शेरबहादुर देउवा २०५७ साउन देखि २०५९ माघसम्म ४८ जना (२२ करोड)
११)लोकेन्द्र बहादुर चन्द ५९ माघ देखि २०६० कार्तिक सम्म ४० जना (८ करोड)
१२) सुर्य ब थापा २०६० कार्तिक देखि ६१ माघ सम्म ४७ जना(२२ करोड)
१३)राजा ज्ञानेन्द्र ६१ माघ देखि ६३ बैशाख ११ सम्म ६० जना (१ अरब)
१४) गिरिजा प्रसाद कोइराला २०६३ बैशाख २०६५ आषाढ सम्म ४६ जना (६८ करोड)
१५) पुस्पकमल दाहाल २०६५ साउन देखि २०६६ बैशाखसम्म ४० जना (४२ करोड )
१६)माधब कुमार नेपाल २०६६ बैशाख देखि २०६७ फागुन सम्म ४२ जना (५० करोड)
१७)झलनाथ खनाल २०६७ फाल्गुण देखि २०६८ साउन सम्म ४१जना(१२ करोड)
१८)बाबुराम भट्टराई २०६८ बैशाख देखि २०७० जेष्ठ सम्म ५५ जना (२२ करोड)
१९) खिलराज रेग्मी २०७० जेस्ठ देखि २०७० कार्तिक सम्म ४० जना ( ७ करोड )
२०)सुशील कोइराला २०७० मङ्गसिर देखि २०७२ असौज सम्म १८ जना (३० करोड )
२१)केपि ओलि २०७२ असौज देखि २०७३ आषाढ सम्म ११ जना (५ करोड)
२२)पुस्पकमल दाहाल २०७३ आषाड देखि २०७४ जेस्ठ सम्म ४६ जना (२७ करोड)
२३)शेर बहादुर देउवा २०७४ जेष्ठ देखि २०७४ माघ सम्म ४६ जना (४० करोड )
२४)केपि ओलि २०७४ माघ देखि हाल सम्म १६ जना (२० करोड)
यो देखेपछि तपाइँले बुझ्नु भयो होला माननीयज्यू पुष्पकमल दाहाल, शेरबहादुर देउवा र बाबुराम भट्टराइ सम्झेर ओली माथि कुण्ठा पोखिरहेको रहेछु भनेर । अहिले तपाइँले जे विषयमा बहस चलाउन खोज्नु भएको छ त्यो सान्दर्भिक छ । अहिले कोरोना रोकथाम र नियन्त्रणका लागि रचनात्मक प्रस्तावहरू ल्याउनुस न । जुन प्रस्तावमा हामी पनि तपाइको पक्ष लिएर सामाजिक सञ्जालमा अन्य मान्छेहरूसँग बहस गरौँ । र फेरि पनि भन्छु माननीयज्यू यो समय तपाइको जवाफदेहिता र उत्तरदायित्वको हो पत्रकारको जस्तो प्रश्न सोधेर आफ्ना विगत छायाँ पार्ने कष्ट नगर्नुस ।
(समसायिक विषयमा कलम चलाउने देउजा अनेरास्ववीयूका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार ११:२१












