१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कोरोनाको कहर र नेपाली अर्थतन्त्रमा देखा पर्न सक्ने आर्थिक प्रभाव

-डा. यादवमणि उपाध्याय

कोरोना भाइरस एक संक्रमणीय रोगका रूपमा आज संसारभरि फैलिसकेको छ । जुन मानिस र जनावरमा समेत देखिएको छ। कोभिड-१९ नाम दिइएको यो महाब्याधिको सामान्य लक्षणहरू ज्वरो, थकान र सुख्खा खोकी हो भन्ने हामी सबैलाई थाहा भैसकेको छ । बिश्वब्यापी महामारिको यो अवस्थामा कुनैपनि देश अछुतो रहन सकेको छैन । नेपाल पनि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा छ र यसले भौतिक रूपमा आजसम्म कुनै मृत्युरूपी क्षति पुर्याऊन सकेको छैन ।

कोरोना आतंक कहिले सकिन्छ भन्ने कुनै अनुमान गर्न सकिने आधारहरू निर्माण भएका छैनन् । अधिकांश देशले बन्दाबन्दीको समयलाई थपेका थप्यैछन । न त यसको कुनै औषधि नै पत्ता लागिसकेको छ । यसले कति भयावाह स्थितिलाई निमत्याऊने हो भन्ने अनुमान गर्न सकिने अवस्था छैन । वन्द भएका शैक्षिक संस्थाहरु, ऊध्योग कलकारखानाहरू र अन्य रोजगारी केन्द्रहरु कहिले देखि सुचारु हुनेछन् भन्ने अनुमान गर्न सकिने अबस्था छैन।

शिक्षक कर्मचारिहरु, मजदुरहरु, ब्यापारिहरु, ऊद्योगपतीहरु काममा जान नपाएर  घरमा बस्न बाध्य छन्। एक दुई दिन घरमा बस्न रमाईलो माने पनि अब त ऊनिहरुलाई आफ्नो कामले सताईरहेको छ। यो अबस्था हाम्रो मात्र रहेन् । अकल्पनिय अबस्थाको मृत्यु सामु मानबजाति कति निरिह हुदोरहेछ भन्ने यो भन्दा ठुलो ऊदाहरण के हुन सक्छ। संसारनै अन्यमनस्कको अबस्थामा छ। बाध्यताबस संसारका मानिसहरु  रोजगारिकालागि र आफ्नो भबिष्यकालागि अमेरिका बेलायतलाई आफ्नो गन्तब्य मानेतापनि आज बिदेशबाट आऊने मानिस यसरि छिछि र दूरदूर भएको अबस्था आफैमा दर्दनाक छ।

दुइ महिना अगाडि अमेरिकाले कोरोना भाइरसलाई चिनको भाईरस भनेर बेइज्जत गरेतापनि आज यो महामारी ऊसैकालागि पनि टाउको दुखाई भएको छ्। कोरोना भाइरसले आजको महाशक्ति रास्ट्र अमेरिका यसरि लडखडाऊला भन्ने कसले पो सोचेको थियोहोला र ? संसारका धेरै मानिसहरुले जस्तै हामिले पनि अमेरिकाले कोरोनालाई सहजै नियन्त्रण गर्न सक्ला, औषधि वनाउला र हामिलाई पनि पठाउला र हामि पनि बाँचौला भन्ने अपेक्षा गरेका थिय तर अवस्था अपेक्षा गरे जसरी अगाडि नबढेर चिनले कैले सामान पठाऊला र अमेरिकि बाँच्लान भन्नेपो भयो। बाल्यकालमा ठुलो ढुङ्गा ऊठाऊनु पर्दा राजाले ऊठाऊन सक्छन भने जस्तै हालत आज अमेरिकाको छ।

कोरोना महामारी अब कुनै एक देशको मात्र समस्या रहेन। यसले हाम्रा सामु केही गम्भीर प्रश्नहरु खडा गरिदिएको छ । यस्ता समस्या यसपछि पनि लगातार देखा पर्न सक्ने छन। यस्ता समस्याहरुको दिगो समाधानको उपाय के हो ? हामीले यस प्रकारका समस्यालाई केवल रोगका रुपमा हेर्ने कि अथवा तत्कालको समाधान मात्र खोज्ने प्रश्नहरु तेर्सिएका छन। होइन भने हामिले यस्ता समस्यालाई दिर्घकालिन समाधानका रूपमा हेर्नुपर्ने हुनछ होइनभने मानबजाति पक्कैपनि अगाडि बढन सक्ने छैन।

 विश्व अर्थतन्त्रः

कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जकडिने पक्का जस्तै छ। केही अर्थशास्त्रीहरूले १९७० को दशक पछि पहिलो पटक चीन पनि सम्झौताको अर्थतन्त्रमा गएको जनाएका छन। चीनको अर्थतन्त्र फेब्रुअरी २०२० मा २६.५ ले ओरालो झरेको छ। फेब्रुअरीमा कारको बिक्रीमा मात्र चीनमा ८६ प्रतिशत ले गिरावट आएको छ। कोरोनाभाइरस संसारभरि फैलिएपछि शेयर बजारले १९८७ पछि सबैभन्दा खराब अबस्थाबाट गुज्रिनु परेको छ। इटाली , स्पेन र फ्रान्स  जस्ता ठूला अर्थतन्त्र भएका देशहरूको पनि बाध्यात्मक क्वारेनन्टाइन नीतिका कारण आर्थिक क्षेत्रहरूमा व्यापक अवरोध आएको छ।

कोरोनाभाइरस महामारीले आर्थिक उथलपुथलको स्टक, बोण्ड र कमोडिटी (कच्चा तेल र सुन सहित) बजार लगायतका वित्तीय बजारहरूमा व्यापक र गम्भीर प्रभाव पारेको छ। रसिया – साउदी अरेबिया तेलको मूल्य युद्धमा समावेश छन्। अहिले कच्चा तेलको मूल्यमा गिरावट र शेयर बजारको क्र्यास यसैको परिणाम हो। संयुक्त राष्ट्र विकास कार्यक्रमले विकासोन्मुख देशहरूको राजस्वमा २२० अरब अमेरिकी डलरको कटौती हुने अपेक्षा गरेको छ र कोरोना-१९ को आर्थिक प्रभाव आगामि महीनाहरु र बर्ष सम्म रहने अनुमान गरिसकेको छ।

युरोपको यो चार हप्ताको महामारिको समयको आर्थिक अवरोधले नकारात्मक बृद्धि भएको छ, अर्थात् यि अर्थतन्त्रमा मन्दी बाहेक अर्को केहि हुने छैन र २०२० को जीडीपी वृद्धि ३.४ प्रतिशत बिन्दुले तल हुने अनुमान छ। यदि अवरोध आगामि १२ हप्तासम्म जारी रह्यो भने, बढ्दो गिरावटको भयाबह स्थिति हुनेछ। विशेष गरी सेवाक्षेत्रका धेरै आवश्यक उत्पादन बन्द भएपछि बेरोजगारीमा ठूलो बृद्धि हुने छ। यस्तो अवस्थामा जीडीपी वृद्धि ५.८ प्रतिशतले गिरावट हुने पक्का जस्तै छ।

संयुक्त राज्य अमेरिकामा चार हप्ताको आर्थिक अवरोधको कारण उत्पादकहरूको उत्पादनमा कमि आउने र उपभोक्ता विश्वासमा कमी आउने छ। बेरोजगारि ब्यापक कटौति पछि अमेरिकी अर्थव्यवस्था, उपभोक्ता खर्च, सार्वजनिक लगानी र सरकारी राहत प्याकेजहरू द्वारा संचालित हुनेछ। आजको दिनमा मात्र करिब १ करोड अमेरिकिले बेरोजगार भत्ताका लागि फर्म भरेको जनाइएको छ। परिणाम जिडिपि मा ४.२ प्रतिशतले ओरालो लाग्ने अनुमान छ। उत्पादनमा बृद्धि हुन लामो समय पर्खिनु पर्ने छ, उपभोक्ताको मागलाई घटाउनेछ। यस परिदृश्यमा जीडीपी वृद्धि ७.१ प्रतिशतले थप घटने अनुमान छ।

नेपाली अर्थतन्त्रः

कोरोनाभाइरसको कारण अहिले विश्व अर्थतन्त्र जस्तै नेपाल पनि अत्यन्तै कठिन आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। हामि पनि बन्दाबन्दिको यो समयमा आर्थिक रुपमा ग्रस्त छौ। हामिले आर्थिक वर्ष २०७६।७७ मा आर्थिक बृद्धि हासिल गर्नका लागि विभिन्न आर्थिक लक्ष्यहरू राखेको थियौं। मौद्रिक नीतिका अनुसार ८.५ प्रतिशत को आर्थिक वृद्धि हासिल गर्ने मुख्य आर्थिक लक्ष्य र उपभोक्ता मुद्रास्फीति दर ६ प्रतिशत प्रतिशतमा राखेर मूल्य स्थिरता कायम गर्ने र द्रुत गतिमा बिकाश गर्ने काम प्रभावित भएको छ ।

आज हामिले ठूला विकास परियोजनाहरु र बिभिन्न राष्ट्रिय गौरवका परियोजनाहरु संचालन गरिरहेका छौं। जसले हाम्रो अपेक्षित विकासको दर प्राप्त गर्न सहयोग पुर्‍याउने बिश्वाशमा थियौं। आउने दिनमा कोरोनाभाइरसको कारण यी सबै प्रोजेक्टहरू अस्थायी रूपमा बन्द हुनेवाला छन् ।  ती प्रोजेक्टहरू संचालन र व्यवस्थापन गरेका चिनियाँहरु आफ्नो देश फर्केका छन्। ती प्रोजेक्टहरूका लागि चाहिने आबस्यक बिभिन्न मेशिनरी र अन्य सामग्रीहरु चीन लगायत विश्वको विभिन्न भागबाट आयात गरिने कार्यक्रम थियो तर अहिले र आउने केहि समयसम्म पनि आयात गर्न सकिने अबस्था छैन। यसले देशको आर्थिक गतिविधिलाई नकरात्मकता तर्फ लैजाने पक्का छ। यस्ता धेरै विकासात्मक गतिविधि रोकिने कारणले नेपाली अर्थव्यवस्थामा नकरात्मक प्रभाव पार्नेछ।

यसबाहेक बिकाशको अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष पर्यटन वर्ष थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाल भ्रमण बर्ष २०२०’ भनेर पर्यटन वर्षको रूपमा घोषणा गरेको थियो। तर औपचारिक रुपमा यो भ्रमण बर्षलाई स्थगित गरिय संगै हाम्रो २० लाख पर्यटक ल्याउने लक्ष्य हासिल गर्ने छैनौं। नेपालमा पर्यटकका लागि मुख्य देशहरू भारत, चीन, अमेरिका, युके, श्रीलंका आदि हुन्। यी देशहरूबाट आएका धेरैजसो पर्यटकहरू विश्वभरि भाइरसको फैलावटको कारणले नेपाल भ्रमण रद्द गरिसकेका छन। साथै, नेपालमा सबै उडानहरू नेपाल भ्रमण बर्ष स्थगित संगै पर्यटकहरुले भ्रमण रद्द भैसकेको छ। यसले एयरलाइन्स ब्यसायमा गम्भीर प्रभाव पारेको छ र पर्यटन उद्योग पुर्ण धरासायी भएको छ। एयरलाइन्स ब्यबसायमा ११३ अरब अमेरिकि डलर घाटा हुने अनुमान छ। साथै ५० भन्दा बढी घरेलू उडानहरू कोरोना-१९ को प्रभावका कारण दैनिक रद्द छन। नेपाल एयरलाइन्सका लागि सबैभन्दा काठमाडौंबाट पोखरा मार्गमा धेरै उडानहरू थिए र सबैभन्दा बढी मुनाफायुक्त मार्ग पनि थियो। यस मार्गमा विदेशी राष्ट्रको पर्यटन प्रवाह विगतको भन्दा ९० प्रतिशत ले घटि सकेको छ। यो भाइरसको प्रभाव होटल व्यवसायमा पनि स्पष्ट देखिइसकेको छ। वर्तमान यस्तो अबस्थामा होटल व्यवसायहरूको दैनिक खर्च गर्न समेत गाह्रो भैसकेको छ किनभने पर्यटकको आगमन दर पुर्णमात्रामा धरासायि छ ।

कोरोनाको असर कृषि क्षेत्रमा पनि बिस्तारै देखिनेनै छ। अधिकांश मल र बीउहरू विदेशी राष्ट्रबाट आयात गरिन्छन्। यस भाइरसको कारणले गर्दा ती मल, बीउहरू, अन्य उपकरणहरू र अन्य प्रविधिहरू आयात गर्नका लागि धेरै गाह्रो छ ।

बन्दाबन्दिको अवरोध र कडा नियमहरूले उत्पादनहरूको आयात र निर्यात गर्न गाह्रो बनाएको छ। यसले गर्दा आयातित सामानहरूको भन्सार महसूल संकलनमा कमी ल्याउँछ र यसले सरकारको राजस्वलाई घटाउँछ। यसले सरकारको लक्षित बजेट योजनालाई ​​समस्यामा पार्नेछ। जसले देशमा हुने आर्थिक गतिविधिहरूको सहज प्रवाहलाई असर गर्न सक्छ। धेरै नेपाली कामदार विदेशबाट आफ्नो घर फर्कदै काम गर्दै आएका छन् र उनीहरूले वैदेशिक रोजगारीको योजना पनि रद्द गरेका छन् जसले नेपालमा बेरोजगारी बढाउँदछ र देशको आम्दनी घटाउँछ। यसले सरकारको विदेशी मुद्राको आम्दानी कम गर्दछ।

खासगरी रेमिट्यान्समा रमाएको हाम्रो अर्थतन्त्र कतार, कुवेत, बहराइन, साउदी अरेबिया, दक्षिण कोरिया र जापानजस्ता गन्तव्य स्थलहरूमा प्रवेश प्रतिबन्धका कारण नेपालमा पठाइने रेमिट्यान्सको ५० प्रतिशत हिस्सा अवरुद्ध हुने छ। विगतका वर्षहरूमा नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका उल्लेखनीय रूपमा वृद्धि भएको थियो। गत आर्थिक वर्षमा मात्र कूल घरेलू उत्पादनको एक चौथाई बराबरको  रेमिट्यान्स भित्रिएको थियो।  यसले हाम्रो अर्थतन्त्रमा जिडिपिको लगभग १५ प्रतिशतले प्रत्यक्ष असर गर्नेछ।

गत आइतबार विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गरेको छ र यो अबधिमा केबल १.३ देखि २.९ प्रतिशत आर्थिकबृद्धि हुने अनुमान गरेको छ। यस अघि  नै विश्व बैंकले र एसियाली बिकास बैंकले नेपालको आर्थिकबृद्धि ४.५ प्रतिशत मात्र हुने अनुमान गरेको थियो। विश्व बैंकका अनुसार  हाम्रो मात्र नभएर सार्क देशहरु भारत, भूटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सबैको आर्थिक वृद्धि कोभिडका कारण प्रभावित हुने भएको छ र सबैको केबल २.० प्रतिशतको हाराहारिमा मात्र आर्थिक बृद्धि हुनेछ।

अबका दिनमा कुल माग र कुल आपुर्तिमा ब्यापक असन्तुलन देखापर्ने छ। रोजगारि, आय, स्वदेशी लगानि, बैदेशिक लगानि, बचत, उपभोग, ज्यालादर, पूजिनिर्माण, ऊत्पादान, बिनिमय आदिमा ब्यापक कमि आउने छ तर ठिक ऊल्टो मुल्यमा भने ब्यापक बृद्धि हुनेछ। सोझो रूपमा यि चिजहरूमा कमि आउने भएतापनि यसको गुणात्मक असर अर्थतन्त्रको मुख्य क्षेत्रहरु कृषि, ऊद्योग र सेवा क्षेत्रमा देखिनेनैछ। शिक्षा, स्वास्थ्य, खानेपानि, पर्यटन, उद्योग आदिमा यस्का असर देखिन थालेभने निजि क्षेत्र कति धरासायि होला अहिले हामि अनुमान मात्र गर्न सक्छौ। निजि क्षेत्र मुनाफामा मात्र रमाऊने कुरा त हामि यो दश पन्ध्र दिनमा देखि सकेका छौ। यसलाई थप ब्याख्या गर्न सायद जरुरि होला जस्तो लाग्दैन। यसको पुर्ति गर्न सरकारले घाटाको बजेटमा बृद्धि नगरि हुदैन जस्ले गर्दा सरकारि खर्चमा बृद्धि हुन गई मुल्यमा बृद्धि हुदै मुद्रास्फिति हुनेछ। यसबाट गरिब ब्यक्तिहरु उपभोगबाट थप बन्चित हुनेछन्। गरिब र धनि बिचको खाडल झन बढने छ। यसबाट विश्व अर्थतन्त्रको ग्राफ नराम्रो संग ओरालो लाग्ने छ। अर्थशास्त्रीहरु सन १९३० को आर्थिक मन्दि पछिको नयाँ अर्थतन्त्रलाई जे. एम. किन्सले नयाँ आर्थिक मोडल दिए जस्तै अहिलेको कहरबाट बच्न नयाँ आर्थिक मोडेलको महशुस पक्कै हुनेछ।

अब हाम्रो सरकारले कसरी आफ्नो बित्तिय निति निर्माण गर्छ भन्ने कुरामा हाम्रो देशको अर्थतन्त्र पनि त्यहि अनुशार अगाढि बढने छ।

(लेखक अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । )

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १३:१३