१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

वैदेशिक राेजगारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने श्रममन्त्री विष्टको निर्णय (भिडियोसहित)

–माधव तिवारी

३ जेठ, काठमाडाैँ । श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेका छन । वैदेशिक रोजागारीका सिलसिलामा विदेशका जेलमा रहेका नेपाली कामदारकाे मुद्दा सरकारले नै लडिदिने एेतिहासिक निर्णय लिएको एक महिनाभित्र विष्टले अर्को महत्वपूर्ण निर्णय लिएका हुन ।

वैदेशिक रोजगारीमा रहेको सिण्डिकेट अन्त्यको सुरूवातीका लागि मन्त्री विष्टले लिएको यो निर्णय अत्यन्तै महत्वपूर्ण मानिएको छ । विष्टले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीकाे निर्णय गरेका हुन । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत  निर्णय सार्वजनिक गर्दै मन्त्री विष्टले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

श्रममन्त्री विष्टले नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन, परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रु १२५, मलेसियन दूतावासमा एकीकृत सेवा (ओएसस)का नाममा लिइने दुई हजार ८०० र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २०० सय, भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न रु तीन हजार २०० लिने काम अवैध, अवाञ्छित र गैरकानूनी भएकाले खारेज गर्ने निर्णय भएको जानकारी दिए ।

पत्रकार सम्मेलन मार्फत निर्णयको जानकारी दिँदै मन्त्री विष्ट 

 यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । नेपालबाट मलेसियामा वार्षिक करीब डेढ लाख कामदार जान गरेका छन् । मन्त्री विष्टले नेपालका तर्फबाट हुने तत्कालै र मलेसियन सरकारबाट सम्बोधन गर्नेपर्ने विषयमा परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक रूपमा द्रुत गतिमा गरिने जानकारी दिए । मलेसियामा पुनः महाथिर युगको सुरू भएको भन्दै मन्त्री विष्टले नेपाल सरकारको निर्णयमा मलेसिया सरकारले सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : May 17, 2018 at 1:40 pm