१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

नुवाकोटमा वडाध्यक्षलाई फसाउन अपहरणको नाटक गर्ने तीन जना पक्राउ

२ जेठ, नुवाकोट । नुवाकोटमा वडाध्यक्षलाई फसाउन आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्ने तीन जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरी कारबाही थालेको छ ।

आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका–३ का धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजुप्रसाद रिमाललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई कारबाहीका लागि प्रशासन कार्यालयमा सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

धनबहादुरले सोही वडाका वडाध्यक्ष बद्री रिमालसहितका पाँचजनाले आफूलाई अपहरण गरी जंगलमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्दै रु एक लाख र सुनको सिक्री लगायतका गहना लुटेको भन्दै अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अभियोगमा सोमबार उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सूचना झुठो भएको र वडाध्यक्षलाई फसाउन नियोजितरुपमा लागेको पाइएकाले पीडित भन्नेलाई नै पक्राउ गरी कारबाही शुरु गरिएको उनले जानकारी दिए ।

अपहरणमा परेको भनिएका धनबहादुर गम्भीर घाइते भएको भन्दै जिल्ला अस्पताल त्रिशूली र वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराउन भर्ना भएपनि अवस्था सामान्य पाइएपछि कारबाहीका लागि प्रहरीले नुवाकोट ल्याएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १९:५१