१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

२६ चैत, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआएकाे भन्दै सेवाबाट बर्खास्त गरिएको छ ।

कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्‍न प्रदेशको सामाजिक विकास मन्त्रालयले भनेपनि प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए । बर्खास्तीमा पर्नेमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरी रहेका छन् ।

मन्त्रालयले काेराेनाकाे महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने बताएको थियाे । पाँच जना चिकित्सकले मन्त्रालयकाे साे निर्णय बिपरित जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको जनाएको छ । सेवा प्रवाहमा बेवास्था गर्नेलाई सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १४:२६