१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कोरोना परीक्षण ल्याब स्थापनाका लागि प्राविधिक टोली चितवनमा

२० चैत, चितवन । सम्भावित कोरोना भाइरस (कोभिड—१९ ) को परीक्षण गर्न पिसिआर प्रयोगशालाको मागसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक टोली स्थलगत अध्ययनका लागि यहाँ आएको छ । जिल्लाका सरोकारवालाले तत्काल सो प्रयोगशाला भरतपुरमा स्थापनाका लागि अनुरोध गरेका थिए । सो भाइरसको परीक्षण गर्न प्रयोगशाला यहाँ नहुँदा नमूना सङ्कलन गरी काठमाडौँस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको छ ।

नेपाल स्वास्थ्य व्यावसायिक परिषद्का रजिष्टार पुष्पराज खनाल, प्रा डा गिरिराज त्रिपाठी, विमलेश झा र सुलभ आचार्यसहितको टोलीले आज बिहान भरतपुर महानगरपालिकामा छलफल गरेको थियो । जिल्लामा हाल भइरहेका उच्चस्तरका चारवटा प्रयोगशालालाई तत्काल स्तरोन्नती गर्ने वा भरतपुर अस्पतालमा नयाँ प्रयोगशाला स्थापना गर्ने भन्ने विषयमा छलफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

उहाँले सकेसम्म दीर्घकालीन रुपमा काम हुने गरी भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्न आफूले अनुरोध गरेको तर मन्त्रालयको प्राविधिक टोलीले तत्कालका लागि भइरहेका प्रयोगशाला मध्ये एउटाको स्तरोन्नती गर्ने र पछि भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्दा राम्रो हुने सुझाव दिएको जानकारी दिनुभयो ।

टोलीले राष्ट्रिय पंक्षी अन्वेषण प्रयोगशाला, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर भित्रका दुईवटा प्रयोगशालाको निरीक्षण गरिरहेको छ । चारवटै प्रयोगशाला अध्ययनपछि दिउँसो छलफल गरेर काम अघि बढाइने प्रमुख दाहालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार १४:०१