१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माओवादी मन्त्रीको असन्तुष्टिका चाङ, एमालेसँग बटारिनुका यस्ता छन पाँच कारण

–पवित्रा मुडभरी

१ जेठ, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको नजिक पुगे पनि निष्कर्षमा भने पुगेका छैनन् । पार्टी एकीकरणमा नेताहरुको व्यवस्थापन बाहेकका सबै विषयमा सहमति भइसकेको छ । यद्यपी भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको नेपाल भ्रमण अघि र पछि माओवादी नेताहरुको बोली फेरिएको छ ।

सरकारका विरुद्ध माओवादी नेताहरु तिक्ततापूर्ण भाषणवाजीमा उत्रिएका छन । पार्टी एकीकरणमा देशी विदेशी शक्तिको चलखेल भयो भन्दै भाषण गर्ने माओवादी अध्यक्ष प्रचण्डले कुनै दिन कसले चलखेल गर्यो र पार्टी एकता भाँड्न खोज्यो भन्ने विषय आवश्य नै व्यक्त गर्लान यद्यपी अहिले भने माओवादी रुष्ट हुनुका पाँच कारण सतहमा चर्चामा ल्याइएको छ । माओवादीकै तर्फबाट आएका असन्तुष्टि भनेका विषय यस्ता रहेका छन ।

सचिव सरुवा भागण्डा नहुँदा माओवादी मन्त्री मारमा
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा जानुअघि एकै पटक ३० सचिवको सरुवा गरे जसको सूचना सम्बन्धित मन्त्रालयका मन्त्रीले समेत पाउन सकेनन् । कुनै पनि मन्त्रीले आफू अनुकुलको सचिव पाउन सकेनन् । मन्त्रीहरुबाट भ्रष्टाचार नहोस भनेर प्रधानमन्त्रीले मन्त्रीले इच्छाएका व्यक्तिलाई सचिवमा सरुवा गरेनन् । मन्त्री भएर भन्दाबढी भ्रष्टाचार गर्न सचिवको सहयोग चाहिन्छ तर ओलीको उक्त निर्णयले माओवादी र एमालेकै मन्त्रीको पनि कमाउने दाउमा छायाँ परेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा अख्तियार गरेका आलीले निर्णय सर्वत्र स्वागतयोग्य भए पनि माओवादी मन्त्रीले असन्तुष्टिको विषय बनाएका छन ।

प्रधानमन्त्री शक्तिशाली
प्रधानमन्त्रीले विभिन्न महत्वपूर्ण निकाय र विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउने निर्णय लिए । जसका कारण पनि माओवादी मन्त्रीहरु संशंकित बने । प्रधानमन्त्री शक्तिशाली बन्नेकुरालाई राष्ट्रको हित हेर्ने धेरैले स्वागत गरे पनि माओवादीले आफूमात्रै असन्तुष्टि जनाए न कांग्रेसका नेतहरुसँग चरणवद्ध रुपमा छलफल गरेर उनीहरुलाई पनि बिरोध गर्न लगायो । माओवादीले गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई मोहडामा राखेर बिरोध गरे पनि प्रधानमन्त्री शक्तिशाली भएपछि मन्त्रीहरु निरीह हुने भन्दै निरन्तर असन्तुष्टि जनाउँदै आएको छ ।

मोदी भ्रमणमा भारतीय सुरक्षाकर्मीको जगजगी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मीको रजगजबाट माओवादी असन्तुष्ट बनेको छ । माओवादी प्रवक्ता समेत रहेकी पम्फा भुसालले सोमबार प्रतिनिधिसभाको बैठकमा चर्को स्वरमा भारतीय सुरक्षाकर्मीको चहलपहलको विषयलाई चर्को स्वरमा बिरोध गरिन । गृहमन्त्री रामबहादुर थापा बादल निकट मानिने भुसालको बिरोधलाई गृहमन्त्रीकै असन्तुष्टिको रुपमा धेरैले बुझेका छन । भुसाल बादलसँगै वैद्य माओवादी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन ।

पुनले प्रवेश नपाउँदा तनाव
अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास भयो । त्यो पनि भारतीय कम्पनी सतलजलाई निर्माण गर्न दिने गरी तर उक्त शिलान्यासमा विभागिय मन्त्रीका हैसियतामा उर्जामन्त्री वर्षामान पुनलाई सहभागी गराउनुपर्ने त्यसो हुन सकेन । यसमा माओवादीले चर्को असन्तुष्टि जनाएको छ । अरुण तेस्रोका बारेमा विगतदेखि नै भारत आफैँले विभिन्न कम्युनिष्ट शक्तिलाई उचालेर परियोजना बन्न नदिएको आरोप जनस्तरबाटै लाग्दै आएको छ । यसपटक विप्लव नेतृत्वको माओवादी सोही विषयलाई लिएर सडकमै आएको छ । पछिल्लो पटक अरुण तेस्रो परियोजनाको क्षेत्राधिकारको विषयमा लगानी बोर्ड र ऊर्जामन्त्रालयबीच विवाद चलिरहेको थियो ।

बजेटमा भएन बहस
माओवादी मन्त्रीले बजेटमा अाफूहरुसँग पर्याप्त बहस र छलफल नगरेको भन्दै असन्तुष्टि जनाएका छन । बजेटमा आफूहरुसँग परामर्श नभएको भन्दै माओवादी मन्त्रीहरुले प्रचण्डसँग हारगुहार नै गरेका थिए । मन्त्रालयगत रुपमा बजेटको तयारी गरेर पठाए पनि आर्थमन्त्री र प्रधानमन्त्रीले छलफल गरेर समय खेर नफालेकोमा माओवादी मन्त्रीहरुको दुखेसो रहेको छ ।

उल्लेखित कारणले गर्दा सत्तारुढ दुल दल जुन एक हुने प्रक्रियामा रहेका थिए उनीहरुको बीचमा चिसोपना बढेको छ । पछिल्लो समय ओली र दाहालका बीचमा समेत घनिभूत छलफल हुन पाएको देखिदैन । दाहालले भन्ने गरेको जस्तै पार्टी एकतामा षड्यन्त्रको भएको मान्ने हो भने यीनै पाँच कारणले पनि एकतामा बाधा पुग्न सक्छ । तर बहानाबाजीमा उच्चतमा स्थान बनाउन सफल माओवादी केन्द्रका नेताहरुले सरकार र एमालेप्रतिको रुष्टता बढ्दै जाने हो भने एकताको विन्दुबाट ए ‘कता’ को बाटोमा नपुग्लान भन्न सकिन्न ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार ०९:३७