१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नुवाकोटमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु

२८ फागुन, नुवाकाेट । जिल्लाको दुई स्थानीय तहमा आजदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ शुरु भएको छ । त्रिशूली जिल्ला अस्पतालमा कार्यक्रमको आज जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले शुरुआत गर्नुभएको हो ।

जिल्लामा पहिलो चरणमा कार्यक्रम विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा सञ्चालन हुन लागेको हो । दुई नगरपालिकाको २६ वटा वडाबाट प्रत्येक वडाबाट बढीमा २५ जनाको दरले ६५० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण, प्रत्येक वडाबाट थप बढीमा ५० जनाका दरले एक हजार १०० लाई २५ प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गरिने अस्पतालका प्रमुख डा रेमकुमार राईले बताउनुभयो ।

डा राईका अनुसार वडा कार्यालयको सिफारिसमा आउनेले उक्त सेवा निःशुल्क वा छुटमा प्राप्त गर्न सक्नेछन् । सोह्र प्रकारको परीक्षण गरिने मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका लागि रु दुई हजार दुई सय तोकिएको छ । त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले हाललाई दुई पालिकामा मात्र सञ्चालन भए पनि आगामी वर्ष अन्य पालिकाका नागरिकका लागि पनि कार्यक्रम विस्तार हुँदै जाने जानकारी आएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख तामाङले स्वास्थ्यप्रति सजग नहुँदा कतिपय नसर्ने रोगका कारण मानिसको ज्यान जाने, उपचार गर्न पर्दा पनि लाखौँ खर्च हुने अवस्था अन्त्य गराउन यो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । विशेषगरी नसर्ने रोगप्रति लक्षित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, दीर्घकालीन दम खोकी, मोटोपनजस्ता रोग बेलैमा पहिचान गरी उपचार गराउन सहज हुने अस्पतालका प्रमुख डा राईले बताउनुभयो । थप उपचार आवश्यक भए जिल्लामै गर्ने र जिल्लामा उपचार सम्भव नभए सरकारको सूचीकृत अस्पतालमा पठाउने त्रिशूली अस्पतालले जनाएको छ ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यो कार्यक्रमबाट दुई स्थानीय तहका लक्षित वर्ग र विपन्नले सहज सुविधा प्राप्त गर्ने भएकाले कार्यक्रमको क्षेत्र अझै विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पताललाई सुविधासम्पन्न र विशेषज्ञ चिकित्सकसहितको बनाउनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

प्रजिअ द्रोण पोखरेलले सरकारले चाहेको सेवा नागरिकलाई प्रदान गर्नका लागि अस्पताल अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । यो कार्यक्रम हाल वाग्मती प्रदेशको सात प्रादेशिक अस्पताल र आठ सामुदायिक अस्पताल गरी १५ अस्पतालमार्फत सञ्चालन भइरहेको डा राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १९:०९