३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

दमक गोल्डकपकाे उपाधि नेपाल पुलिस क्लबलार्इ

२८ वैशाख झापा । झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले १३ लाख ११ हजार प्राप्त गरेकाे छ । उपविजेता मनाङले छ लाख ११ हजारमा चित्त बुझायो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरे ।

प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम, उत्कृष्ट मिडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वा्धिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन÷तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपिएफका हरि कार्की घोषित हुनुभयो । उनीहरुले जनही रु २५ हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे ।

यही वैशाख १९ गतेदेखि शुरु भएको सो प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो । गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिनुभयो । उपाधि विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वा्चित अध्यक्ष कर्मा्छिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार २०:१७