११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

नेपाली संक्रमित छैनन्, सचेत रहन आग्रह

१२ फागुन, काठमाडौं । कोरिया स्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड १९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ । दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोरियाका कतिपय सहरमा कोरोनाको संक्रमण देखा परे पनि यहाँ रहेका कुनै पनि नेपालीलाई संक्रमण देखा नपरेको बताए ।

कोरिया सरकार र राजदूतावासले भने अनुसार सावधानी अपनाए संक्रमणको जोखिममा पर्ने खतरा नरहेको उनले बताए । बाहिर विभिन्न हल्ला आइरहेको बेला बास्तोलाले कोरिया सरकार कोरोना भाइरस नियन्त्रण गर्न सूक्ष्म तरिकाले काम गरिरहेकाले चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । यहाँ कार्यरत नेपाली कोरोनाको संक्रमण कारण नेपाल फर्कने इच्छा कसैले नराखेको पनि उनले जानकारी दिए ।

धेरै संक्रमण थेगु भन्ने सहरमा देखा परेको जानकारी दिँदै अन्य सहरमा त्यति धेरै प्रभावित नपारेको बास्तोलाले बताए । थेगु भन्ने सहरमा ३२ लाख जनसंख्या एक हजार नेपाली त्यस क्षेत्रमा रहेको उनले जानकारी दिए । कोरियामा रहेका नेपाली नागरिकलाई सचेत रहन विभिन्न सचेतना कार्यक्रम गरिरहेको बास्तोलाले जानकारी दिए ।

दूताबासले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको शंका लागे अवैधानिक रुपमा कोरियामा रहेका विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा चेक जाँच तथा उपचार गराउन र सो क्रममा पक्राउ नगर्ने व्यस्था मिलाइएको दूतावासले जारी सूचनामा उल्लेख रहेको भन्दै गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेको छ ।

साथै अवैधानिक नागरिकलाई पनि स्वदेश नफर्काउने तथा बिरामीको कानुनी हैसियतबारेमा नसोध्‍न अस्पताललाई निर्देशन दिइएको सम्बन्धमा कोरियाको अध्यागमन विभागले गरेको लिखित पत्रचार बारे प्रेषित गरिएको दूतावासले जानकारी गराएको छ । त्यसैगरी, दूतावासले यसअघि पनि सूचनामार्फत कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०७:०१