मनमोहनमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि पहल गर्छुः मन्त्री पोखरेल
८ फागुन, काठमाडाैँ । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको बार्षिकोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले कलेजले स्वास्थ्य विज्ञानका १३ वटा कार्यक्रमहरु संचालन गरी गुणस्तरीय शिक्षामा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै गतवर्ष उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको स्मरण गर्दै सो उत्कृष्टताको लागि मन वचन र कर्मले सहयोग गर्ने कलेज व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीलाई धन्यवाद दिदैं प्रशंसा गर्नु भयो ।

मन्त्री पोखरेलले कलेजले एम बी बी एस कार्यक्रम संचालन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै राजनीतिको कारणले उक्त कार्यक्रम स्वीकृत नभएको बताउनु भयो । यसका लागि व्यवस्थापन समितिसँग छलफल गरि समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष प्रदेश ३ का सांसद राजेन्द्र प्रसाद पाण्डेले गुणस्तरीय शिक्षा प्रदानगर्ने कार्यमा कलेज सदैव कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कलेजका उपाध्यक्ष श्री जीवन प्रकाश शर्माले कलेजको शैक्षिक इतिहास बताउँदै सहकारीबाट संचालित यस कलेजले भोग्नु परेका व्यवहारिक नीतिगत समस्याहरु माथि प्रकाश पार्दै उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिदै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो ।

उहाँले यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चिकित्साक्षेत्रका कलेजहरुमा ३ महिना पठनपाठन ढिलो हुन गएकोमा ध्यानाकर्षण गराउनु भयो । उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रतिनिधी डाकुरनाथ पराजुली र चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा.मन्दिरा वन्तले मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।
क्याम्पस प्रमुख प्रा.विष्णु भट्राई कार्यक्रममा उपस्थित विद्यार्थी शिक्षक कर्मचारी तथा अतिथिज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उक्त अवसरमा कलेजको सोभनियर पनि विमोचन गरियो साथै दूई जना विद्यार्थीहरुलाई मनमोहन स्मृति छात्रवृति समेत वितरण गरियो । बार्षिकोत्सवको अवसरमा ७ दिन सम्म कलेजले निःशुल्क स्वास्थ्य परिक्षण तथा अतिरिक्त क्रियाकलाप समेत सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : 20:43













