३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

विश्व अर्थतन्त्रमा कोरोना कहर

३ फागुन, काठमाडौं नोभेल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा विश्व अर्थतन्त्रको विस्तार कमजोर हुने देखिएको छ । वस्तु निर्यातको जगमा फैलिएको चिनियाँ अर्थतन्त्रमा यो महामारी ठूलो अभिशाप देखिएको छ । मानवीय क्षति त छँदै छ, अर्थतन्त्र पनि चौपट हुने संकेत देखापर्न थालेको छ ।

महामारीको समाधान नभए विश्वभर सवारीसाधन उत्पादन बन्द हुन सक्छ । वस्तु उत्पादनमा चिनियाँ कच्चा वस्तु उपभोग गर्ने र चीनमै उद्योग राखेर वस्तु उत्पादन गर्ने क्रमले पछिल्लो दशकमा व्यापकता पाएको खबर अन्नपूर्ण पोस्टमा छ ।

चीन तथा त्यहाँको उत्पादन प्रणाली (मूल्य शृंखला) मा आबद्ध अन्य देशका उद्योग, व्यवसायमा पनि समस्या देखिन थालेको छ । वुहान मात्र नभएर चीनका अरू आर्थिक केन्द्र पनि सुनसान छन् । सवारीसाधन निर्माणमा चीनबाट कच्चा पदार्थ आपूर्तिको विकल्प उत्पादकहरूसँग छैन । ९० प्रतिशतभन्दा बढी पार्टस् आपूर्ति चीनबाटै हुन्छ । चीनबाट पार्टस् प्राप्त गर्न नसकेपछि जापानको कार निर्माता कम्पनी निसानले जापानको फ्याक्ट्री अल्पकालका लागि बन्द गरेको छ । त्यहाँबाट सेरेना र एक्स–ट्रेल मोडलका गाडी उत्पादन हुँदै आएका थिए ।

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चिनियाँ पार्टस् अभावमा गत साता फ्याक्ट्री बन्द गरेको छ । विश्वका सबैजसो कार निर्माता कम्पनीमा यस्तै समस्याका कारण उत्पादन प्रभावित भएको छ ।

चीनबाट वस्तु आपूर्ति ठप्प भएपछि विश्व बजारमा गार्मेन्ट्सका आपूर्ति शृंखला प्रभावित भएको छ । औषधिदेखि ग्याजेटसम्मको पार्टस्‌का लागि उत्पादकहरू चीनमा निर्भर छन् । चीन विश्वभर आपूर्ति प्रणालीको केन्द्रमा छ । चीनबिनाको उत्पादन र व्यापार प्रणाली कल्पनाबाहिर हुन्छ भन्ने अस्थायी परिस्थितिलाई लिन सकिन्छ ।

कोरोना भाइरसको उद्गम चीनको अर्थतन्त्र भने यसपटक नराम्ररी प्रभावित हुने निश्चित छ । अघिल्लो वर्ष नै चिनियाँ अर्थतन्त्र तीन दशकयताकै न्यून दरमा विस्तार भयो । सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । चीन र अमेरिका व्यापार युद्धका कारण चिनियाँ अर्थतन्त्र सन् २०१९ मा तीन दशकयताकै सुस्त रह्यो ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेपछि तेल उत्पादकले उत्पादन कटौती गरेका छन् । महामारी फैलिएलगत्तै चीनका विभिन्न सहरमा हुने उडान र त्यहाँ ट्रान्जिट बनाएका विश्वका धेरै हवाई कम्पनीले उडान रद्द गरेका थिए । जसले धेरै देशको पर्यटन उद्योगलाई प्रभावित बनाएको छ ।

नेपालमा असर

कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको छ । पर्यटन व्यवसायीका अनुसार जनवरीदेखि पर्यटक आगमन २० प्रतिशत घटेको छ । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले चिनियाँ पर्यटकको आवागमन उल्लेख्य घटेको बताए ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित फेला परेको भन्ने हल्लाले अन्य देशबाट भ्रमणमा आउन तयारी गरेकाले पनि बुकिङ रद्द गरिरहेका छन् । ‘विवाह तथा सभा-सम्मेलनका लागि बुकिङ गरेका भारतीयहरूले समेत अन्तिम समयमा बुकिङ रद्द गरिरहेका छन्,’ अर्का पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडे भन्छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ०८:०९