१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२८ माघ, काठमाडौं देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।

आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को तुलनामा चालू आव २०७६/७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो । सो एकाइका अनुसार चालू आवको पहिलो सात महिनामा एक हजार ४०२ नमुना परीक्षण गरिएकोमा १२ नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठ/दस दिन पर्खेर खान मिल्ने पाइएको खबर गोरखापत्र दैनिकमा छ ।

एकाइका अनुसार आव ०७५/७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव ०७४/७५ मा एक हजार ८५० नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।

यस्तै आव ०७३/७४ मा एक हजार ९३० नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२/७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव ०७१/७२ मा एक हजार ५७० नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए ।

फाइल तस्बिर ।

घिउसिमी र काउलीमा बढी
एकाइका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले पछिल्लो सात महिनामा परीक्षण गरेका तरकारीका नमुना घिउसिमीमै पटकपटक खान नहुने विषादीको प्रयोग भएको पाइएको जानकारी दिए । उनले यस वर्ष परीक्षण गरिएका तरकारीका नमुनामा खान नहुने विषादी प्रयोग हुनेमा सबैभन्दा बढी (चारवटा) सिमी र दुईवटा काउलीका नमुनामा भेटिएको जानकारी दिए । उनका अनुसार अधिक विषादी भेटिएका सिमीका नमुनामध्ये एउटा भारतबाट आएको र तीनवटा झापा, काभ्रे र सर्लाहीमा उत्पादन भएका थिए । यस्तै काउली धादिङ र बारामा उत्पादन भएका थिए ।

यस्तै, भारतबाट आएको एउटा केरा, सिन्धुपाल्चोकको गोलभेँडामा पनि खान नहुने विषादी प्रयोग भएको पाइएको एकाइले जनाएको छ । अघिल्ला वर्षमा गोलभेँडामा बढी विषादी भेटिने गरेकोमा यस वर्ष खान नमिल्ने र पर्खेर खानुपर्ने दुवैमा घिउसिमी बढी भएको उनको भनाइ छ ।

कार्यविधि कार्यान्वयनमा
सरकारले विषादी बढी प्रयोग गरिएका तरकारी नष्ट गर्न ‘विषादी अवशेष विश्लेषण परीक्षण कार्यविधि २०१७’ जारी गरी कार्यान्वयनमा पनि ल्याइएको छ । कार्यविधि अनुसार कालीमाटी बजारमा भित्रिएका तरकारीको विषादी परीक्षण गर्न थालेपछि त्यहाँ भित्रिने तरकारीका मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगको मात्रामा क्रमशः घटेको थियो । यो वर्ष पुनः बढेको घिमिरेको भनाइ छ । हाल विषादी अवशेष द्रुत विश्लेषण एकाइ काठमाडौँसहित पोखरा, बुटवल र बिर्तामोड, नेपालगञ्ज, सर्लाही र धनगढीमा सञ्चालनमा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्दका अनुसार पछिल्लो समयमा पछिल्लो समयमा तरकारीमा कडा विषादी प्रयोग बढेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०६:२६